कोरोना बीमा भुक्तानी दिन उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजालाशले कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनीको नाममा सोमबार परामादेश आदेश गरेको हो।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो। उक्त रिट निवेदकको पक्षमा परमादेश आदेश आएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।

सोमबार भएको पेशीमा नेपाल पत्रकार महासंघ मोरङ शाखाकोतर्फबाट अधिवक्ता मनोज कुमार आचार्यले पैरवी गरेका थिए। विपक्षीको तर्फबाट पाँचजना कानुन व्यवसायीहरूले बहस गरेका थिए। वादी र प्रतिवादीको तर्फबाट बहस सकिएपछि उच्च अदालतले बीमा गर्ने कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडलाई बीमा रकम भुक्तानी गर्न परामादेश जारी गरेको सूचना अधिकारी सुवेदीले बताए। पाँच दिनपछि आदेशको पूर्णपाठ आउने उनले जानकारी दिएका छन्।

अधिवक्ता आचर्यले निवेदकको पक्षमा कानुनबमोजिम फैसला भएको बताएका छन्। ‘सरकारलाई देखाएर बिमा कम्पनी उम्किने अवस्था रहँदैन। कम्पनीले बीमा गरेको हो। बीमा अभिलेखमा अरू कुनै शर्तहरू उल्लेख पनि भएको छैन,’ उनले भने, ‘त्यही भएर बीमा गरेको भुक्तानी दिने जिम्मेवारी अजोड इन्स्योरेन्स लिमिटेडको हो।’

नेपाल पत्रकार महासंघ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्स्योरेन्ससहित बीमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो। नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २ सय जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बीमा गरिएको थियो । त्यसमध्ये ५१ जना बीमितमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । बीमा गरेका मध्ये ३१ जनाले भुक्तानी पाउन बाँकी रहेको छ।

कम्पनीको नियम अनुसार प्रिमियम तिरेर बीमा गरेका बीमितलाई भुक्तानी दिन नसकिने भन्ने जवाफ आएपछि महासंघले परमादेश माग गर्दै रिट दायर गरेको हो। नेपाल सरकारले आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना बीमा गर्न प्रिमियमको आधार रकम भुक्तानी गरिदिने घोषणा गरेपछि लाखौं नागरिकले कोरोना बीमा गराएका थिए।

अहिलेसम्म झण्डै ३५ हजार संक्रमितले बीमा दाबी भुक्तानी लिएका छन् भने ७० हजारभन्दा बढीले अझै भुक्तानी पाउन सकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *