हेटौँडा कपडा उद्योग : १४ वर्षदेखि बजेटमा छ, कार्यान्वयनमा छैन

चितवन । यस पटकको बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरे । तर यो घोषणा कुनै नयाँ होइन, १४ वर्षदेखि हरेक बजेट भाषणमा अर्थमन्त्रीले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गर्दैआएका छन्, अहिलेसम्म सञ्चालनको कुनै प्रक्रिया अघि बढेको छैन ।

हेटौँडा कपडा उद्योग बजेटमा वर्सेनि समेटिन्छ, तर कार्यान्वयनमा सदैव शून्य हात लाग्छ ।
हेटौंडा कपडा उद्योगलाई सरकारले पहिलो पटक आर्थिक वर्ष २०६५ र ६६ को बजेटबाट पुनःसञ्चालन गर्ने घोषणा गरेको थियो, त्यसपछि सबै बजेटमा हेटौँडा कपडा उद्योगलाई सञ्चालन गर्ने भनिएकै छ, तर कार्यान्वयन हुन सकेको छैन ।

त्यतिबेला नै चालु आर्थिक वर्षभित्र नै सञ्चालनमा ल्याउने भनिएको थियो, तर अझै कपडा उद्योग उठ्न सकेको छैन । अहिलेको बजेटमा पनि अर्थमन्त्री शर्माले उद्योग सञ्चालनमा ल्याउने बताए, तर कार्यान्वयन हुन नसक्ने हेटौँडाका उद्योगी व्यवसायीहरू बताउँछन् ।

हेटौंडा कपडा उद्योग २०३५ सालबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । सञ्चालनमा आएको वर्ष नै ११ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । २०३९ सालमा उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो ।

आर्थिक वर्ष २०५४ सालबाट उद्योग धरासायी हुने संकेत देखियो । कर्मचारी आन्दोलन सुरु भयो । अस्थिर राजनीतिका कारण एक सरकारले अर्को सरकारले राखेको कर्मचारीलाई निकाल्ने काम भयो । कर्मचारी आन्दोलन र राजनीतिक आस्थाका आधारामा व्यवस्थापक नियुक्ति र हस्तक्षेपले उग्र रूप लियो । उद्योग घाटामा जान थाल्यो । पटकपटक बन्द हुँदै खुल्नेक्रम चल्न थाल्यो । चालु पुँजी जुटाउन बैँकबाट ऋण लिनुपर्ने स्थितिमा उद्योग पुग्यो। सरकारलाई ठूलो नोक्शान हुन थाल्यो ।

घाटाकै कारण चल्नै नसक्ने अवस्थामा उद्योग पुग्यो । अनि सरकारले २०५७ माघ १८ मा मन्त्रिपरिषद् निर्णयमार्फत कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएर हेटौंडा कपडा उद्योग बन्दको घोषणा भयो ।

२०६५/६६ देखि उद्योग सञ्चालन गर्ने चर्चा हुन थाल्यो । त्यहाँदेखि वर्सेनि बजेट प्रस्तुत हुँदै गर्दा हेटौँडा कपडा उद्योग सञ्चालन गरिने र आवश्यक बजेट विनियोजन गर्ने कुरा उठिरहेको छ, तर सञ्चालनको लागि कुनै प्रक्रिया अघि बढेको छैन । उद्योग मरेतुल्य भएर सुतिरहेको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल उद्योग चलाउन त्यति सहज नभएको बताउँछन् । उनी भन्छन्, ‘हेटौंडा कपडा उद्योग संचालन सहज छैन, वर्सेनि बजेटमा आएपनि प्रक्रिया कहिल्यै अघि बढेको छैन । त्यहाँका मेशिनहरू जीर्ण भइसकेका छन्, ती मेशिनहरूलाई पुनः सञ्चालनमा ल्याएर चल्न सक्ने अवस्था देखिन्नँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =