बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

काठमाडौँ । बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ। बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा हिजो आइतबार संसदमा पेश गरिएको आर्थिक वर्ष २०७९-८० को बजेट नीतिमा उल्लेख गरिएअनुसार बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताइएको छ। ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले हाल बन्द अवस्थामा रहेको विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने सरकारले घोषणा गरेकोमा त्यसलाई कार्यान्वयनमा ल्याइने जनाइएको हो।

हाल विमानस्थलको धावनमार्ग भर्खरै कालोपत्र सम्पन्न भएको छ। विमानस्थलमा टर्मिनल टावर लगायतका थुप्रै पूर्वाधार निर्माणको आवश्यकता देखिएपछि सरकारले प्राथमिकताका साथ स्तरोन्नति गरेर विमानस्थल सञ्चालन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा उल्लेख गरेका छन्। सरकारले स्तरोन्नतिसँगै बलेवा विमानस्थल सञ्चालनमा ल्याउने भनेपछि लामो समयदेखि बन्द रहेक विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ। २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ।

कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन। कालोपत्र सम्पन्न भएको विमानस्थलको अन्य पूर्वाधार निर्माणमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सरकारले बजेट तथा कार्यक्रममार्फत् घोषणा गरिएको छ। विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएको छ।

सरकारले प्राथमिकतामा राखेको सो विमानस्थलमा पूर्वाधार निर्माणसँगै जनशक्ति तथा प्राविधिक व्यवस्थापन समेत गर्ने भएको छ। विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि सरकारले तयारी थालेको हो। विमानस्थल सञ्चालनका लागि २०७४ चैत ९ गते देखि यती र नेपाल वायुसेवा निगमसँग सम्झौता गरेर यात्रु सुनिश्चितता नहुँदा बागलुङ नगरपालिकाले नै खर्च व्यहोर्ने गरी उडान भरिएको भए पनि सो कार्यलाई निरन्तरता दिन सकिएको थिएन।

नयाँ आर्थिक वर्षको बजेट नीतिमा सरकारले बागलुङको बलेवा विमानस्थलसँगै डडेलधुरा, गैरीगाउँ, टीकापुर, दाङलगायतका स्थानको विमानस्थलको समेत स्तरोन्नति गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *