‘काठमाडौँ सिटी’मा बालेनको ‘हिटी सपना’

काठमाडौँ । मान्छेहरू नयाँनयाँ कुराहरूमा बढी चासो राख्दछन्। 

मानिस दिन प्रतिदिन नयाँ नौलो खोजमा तल्लीन पनि हुन्छन्। चाहे त्यो विज्ञान होस् वा अध्यात्म, कला होस् वा साहित्य, इतिहास होस् वा संस्कृति, राजनीति र समाज नै पनि किन नहोस्। यस्तै, खोजको नतिजा हो, हालसालै भएको निर्वाचनमा विजय प्राप्त गरेका स्वतन्त्र उम्मेदवार अनि उनीहरूका सपनाहरू।

हुन त सपना पनि उनीहरूले नयाँ नै बाँडिरहेका छन्। यस्तै, नयाँ सपना बाँड्नेमध्येका एक हुन् काठमाडौँ महानगरपालिकामा स्वतन्त्र रूपमा मेयरको बाजी मारेका बालेन्द्र साह (बालेन)। सपना, हाम्रो इतिहास अनि ऐतिहासिक सम्पदाको! सपना, हाम्रा हिटी, पाटी, सतल, धर्मशाला, अनि अर्गानिक पर्यटनको! बालेनका अन्य पुरातात्त्विक महत्त्व बोकेका सपनाका कुरा त अन्य अंकमै गरौँला। यीमध्ये पनि ‘हिटी’ विषयमा यही लेखमार्फत् चर्चा गर्नेछु।

के हो हिटी?

सामान्य भाषामा ‘हिटी’ भनेको ढुङ्गेधारा हो। नेपालमा मात्रै नभएर विश्वमै एक अनौठो र मौलिक वास्तुकला बोकेको ऐतिहासिक धरोहर पनि! हिटी एउटा यस्तो प्रणाली हो, जसले पिउने पानीको मात्र नभएर नुहाउने, लुगा धुने र पूजा गर्नको लागि पनि पानीको स्रोतका रूपमा काम गरेको हुन्छ।

यही हिटीबारे हिटी संरक्षण अभियन्ता यादवलाल कायस्थ ‘ढुङ्गेधारा’ मात्रै भन्दा मान्छेहरूले हलुका रूपमा लिने बताउँछन्। यही कारण पनि नेपालमा ढुङ्गेधारा लोप हुँदै गएको बताउँछन् । उनकाअनुसार नेवारी (नेपाल) भाषामा ‘हि’को अर्थ रगत र ‘टी’ को अर्थ तरल पदार्थ अर्थात् पानी भन्ने हुन्छ। ‘प्राणीका लागि रगत जत्ति नै महत्त्वपूर्ण तरल पदार्थ पानी हो’ भन्ने आशयमा यसको नामाकरण भएको उनी बताउने गर्छन्। 

हिटी झट्ट हेर्दा कायस्थले भनेझैं एउटा ढुङ्गाको सरंचना मात्रै भएता पनि नेपाली वास्तुकला र सामाजिक विकासको सूचाङ्कको रूपमा समेत रहिआएको छ। यस वाक्यलाई बालेनकै शब्दमा भन्नुपर्दा ‘हिटी’लाई धाराको एउटा टुटी’कै रूपमा मात्रै लिनुहुन्न। यो पानीको मुहानदेखि मानिसको घर–घरसम्मको प्रणाली हो। यसले राजकुलोदेखि बर्खेपानीलाई पनि व्यवस्थित ढङ्गले सञ्चालन गर्न मद्दत गर्छ।

सामाजिक सूचाङ्क हिटी हो भन्ने प्रमाण मौलिक चाडपर्वसँगको यसको सम्बन्धलाई समेत लिन सकिन्छ। यसैको आडमा मनाइने सिठीनाख (नेवार समुदायले पोखरी, इनार र ढुङ्गाको टुक्राजस्ता पानीका स्रोतहरू सफा गरेर मनसुन शुरू भएको दिनमा मनाउने चाड) अनि मछिन्द्रनाथ जात्रा (पानी र सहकालका लागि गरिने पूजा)ले पनि यस्तो थप पुष्टि गर्दछ।

अझ गमेरै सोच्ने हो भने त विद्वानहरूले भनेझैं नेपाल जीवित संग्रहालय हो भन्ने उक्तिको पुष्टि पनि यही हिटीले नै गर्दछ। किनकी, यीयस्ता हिटीहरू युगौंदेखि महत्त्वपूर्ण सामाजिक स्थानहरूमा विकसित हुँदै आइरहेका छन्। उदाहरणको लागि काठमाडौँका धेरै सहरी क्षेत्रहरू हिटीहरूको नामबाट नामाकरण गरिएको छ जस्तैः भोटाहिटी, थानहिटी, मरुहिटी, रामहिटी, ढोलाहिटी आदि-इत्यादि।

लिच्छवी राजा मानदेव प्रथमद्वारा निर्मित हिटी सबैभन्दा पुरानो हिटी मानिए तापनि मानदेवका नातिको पालाको हाँडीगाउँको हिटीदेखि मात्रै प्रमाणहरू पाइएको इतिहासकारहरू बताउँछन्। अधिकांश भेटिएका हिटीहरू चौधौंदेखि सोह्रौं शताब्दीको बीचका समयमा तिनै प्रमुख राज्यहरूमा स्थापित भएका थिए भन्ने प्रमाणले पनि नेपाल जिउँदो संग्राहलय हो भन्नेमा जोड दिन्छ।

यसरी नेपालको इतिहासमा अह्म भूमिका खेल्ने यस्तो ऐतिहासिक सम्पदामा युवा पुस्ताको ध्यान जानुमा समाज सांस्कृतिक उत्थानतिर जाँदैछ भन्ने भान तभएकै छ तर यति हुँदाहुँदै पनि युवा मेयर बालेनले उठाएका मुद्दाहरू कम चुनौतीपूर्ण भने देखिँदैनन्।

कारण गैरसरकारी संस्था ‘फोरम फर अर्बन वाटर एन्ड सेनिटेसन’को २००९ को प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाका ३ सय ८९ हिटीमध्ये ४५ भत्किएका, ६८ स्थायी रूपमा सुक्खा भइसकेका र ४३ नगरपालिकाको अवैध पाइपलाइनमा जोडिएका छन्। 

अधिकांश हिटीहरू यसरी जर्जर हुनु र लोप भएर जानु काठमाडौँ र सिङ्गो नेपालकै पनि सांस्कृतिक अवस्था दयनीय हुनु हो। यो अवस्थामा यसप्रति ध्यान दिनुको साटो अझ नियोजित तवरले नष्ट गर्ने प्रण भइरहेको संरक्षणविद् कायस्थको भनाइ छ। यस विषयमा सरोकारवालाहरूको ध्यान जानुपर्ने बताउँदै उनी भन्छन्, ‘यसमा सरोकारवाला, राजनीतिज्ञसँगै सचेत वर्गको ध्यान जानु जरुरी छ।’ 

उनी अझै थप्छन्, ‘हामीले एउटा हिटी पुरेर घर बनाउन लागेको ठाउँको उजुरी दिँदासमेत त्यसमा गुपचुप तरिकाले काम गर्न जुक्ति निकाल्दै, त्यहाँ हिटी भएको प्रमाणहरू अझ कम छ भन्दै निर्माण कार्य चलाइरहे।’

हुन त, हाम्रा विद्वान भन्नेहरूले नै यस्ता काम नगरेका भने होइनन्। अझ काठमाडौँ उपत्यकामा द्रुत गतिले अनियन्त्रित विकास गर्नुका कारण पनि यी प्रणालीहरूमा महत्त्वपूर्ण प्रभाव पारेको छ। अग्ला भवनहरूको गहिरो जगका कारण धेरै भूमिगत पानी च्यानलहरू भत्किएका छन्। 

परम्परागत निस्पंदन प्रणाली बिग्रिएको र ढल तथा फोहर-मैलाबाट प्रदूषित भएका कारण भूमिगत पानी दूषित भएको अवस्था छ। सहरी विस्तारले कृषि क्षेत्र, पार्क, बगैँचा र खुला ठाउँमा पक्की निर्माणको चाप बढेसँगै हिटी जलाशयहरूमा ताजा पानी पुनः सञ्चय हुन पाएको छैन।

त्यति मात्रै नभएर नेपालको वर्तमान पालिकाहरूले सीमित स्रोत, साधन, कमजोर व्यवस्थापन र पाइपलाइनको जीर्णताका कारण बासिन्दाहरूलाई पर्याप्त खानेपानी उपलब्ध गराउन सकेका छैनन्। अधिकांश न्यून आय भएका मानिसहरूले पानीको आवश्यकता पूरा गर्न ऐतिहासिक हिटी प्रणालीमा निर्भर रहनुपरेको छ।

खासगरी वि.सं २०७२ को भूकम्पपछि काठमाडौँ उपत्यकाका करिब ४० लाख मानिस पानीको यो गम्भीर संकटमा बाँचिरहेका छन्।

अनेकौं यस्ता जड समस्याका घोषणापत्रसहित प्रतिद्वन्द्वीस्वरूप उभिएका ‘ऐतिहासिक हिटी’सँग कसरी जुध्लान् त समाधानका चुनौती लिएर हिँडिरहेका बालेन? काठमाडौँ सिटीमा युवा मेयर बालेनको ‘हिटी सपना’ यथार्थमा परिणत होला नहोला त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.