पोखरा: उम्मेदवारलाई भन्दा उम्मेदवार नै नभएका चिन्हमा धेरै भोट

पोखरा । पोखरा महानगरको चुनावमा मेयरका लागि २३ र उपमेयरका लागि ८ जना उम्मेदवार थिए । मेयरका एक उम्मेदवारले अन्तिम नामावली प्रकाशनपछि आफ्नो उम्मेदवारी फिर्ता भएको भन्दै आफ्नो समर्थन गठबन्धनमा रहेको बताएका थिए ।

उपमेयरमा भने ८ प्रतिस्पर्धी थिए । तर पोखरामा निर्वाचन आयोगले ३० वटा निर्वाचन चिन्ह भएको मतपत्र पठायो । सोही आधारमा पार्टीका उम्मेदवारलाई आफ्नै चिन्ह थियो भने स्वतन्त्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चिन्ह प्रदान ग-यो ।

पोखरेली मतदाताले २३ उम्मेदवार रहेका मेयरमा २९ चिन्हमा र ८ उम्मेदवार रहेका उपमेयरमा २५ वटा चिन्हमा मत दिए । जसअन्तर्गत मेयरमा उम्मेदवार नभएका ६ र उपमेयरमा उम्मेदवार नभएका १७ वटा चिन्हमा समेत मत परेको छ । रोचक विषय के छ भने उम्मेदवार रहेका चिन्हमा भन्दा उम्मेदवार नै नरहेका चिन्हमा धेरै मत भेटिएको छ । उपमेयरका स्वतन्त्र उम्मेदवार सोममाया विकले ६५ मत, सचेत नेपाली पार्टीकी सोनी परियारले ४८, नेकपा समाजवादीकी शीतला थापाले १९, आमुल परिवर्तन मसिहा पार्टीका पदमबहादुर गुरुङले १३४ मत पाए । तर उम्मेदवारी नै नरहेको माओवादीको चुनाव चिन्हमा १ सय ३९ मत परेको छ । जसपा १ सय ४१, एकीकृत समाजवादीलाई १ सय ४३, जनमोर्चालाई १४, जनता दललाई ४२, संघीय लोकतान्त्रिक मञ्चलाई २ मत दिएका छन् ।

विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाए । विवेकशील साझाले मेयरमा पनि ४ अंक पुर्‍याउन सकेन । मेयरकी उम्मेदवार सुशीला केसीले ३ सय ३८ मत मात्रै पाएकी थिइन् । उपमेयरमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा थियो भने राप्रपा उम्मेदवारले ४ अंकको मत ल्याएका थिए । मेयरमा उम्मेदवारी दिएका अटेरी अभियान अर्थात् स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत पाए, उनकै चुनाव चिन्ह रहेको उपमेयरमा पनि ९३ मत परेको छ, जहाँ उम्मेदवार नै थिएनन् । गुलाबको फूल चुनाव चिन्ह लिएर स्वतन्त्र मेयर उठेका डिलबहादुर गुरुङले ३४ मत ल्याउँदा सोही चिन्हको उपमेयरमा पनि ४ मत परेको छ । मेयरमा गठबन्धनका बागी उठेर अन्तिममा नाम फिर्ता लिएका भूइँकटहर चिन्हका विमल कार्कीको १७ भोट परेको छ । उपमेयरमा भूइँकटहरको उम्मेदवार थिएनन् तर ३ मत छ ।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका रनबहादुर दमैले यसपालि ५ मत ल्याए । यसअघिको प्रतिनिधिसभा उपचुनावमा उनले ४ मत ल्याएका थिए । मेयरमा उम्मेदवारी नदिएको कांग्रेसको चिन्हमा २ सय २९ मत परेको छ भने माओवादीलाई १ सय ६४, जसपालाई २६, जनमोर्चालाई २५ मत परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *