मानव अधिकारका विषय कानुन बनाएर कार्यान्वयनमा लग्नुपर्छ : सभामुख भण्डारी

विराटनगर । प्रदेश १ का समाभुख प्रदिपकुमार भण्डारीले मानव अधिकारमैत्री व्यवहारमा सबै लाग्नु पर्ने बताएका छन् ।
अहिलेको अवस्थामा मानव अधिकारवादी संस्कृतिको विकास गरेर जानु पर्ने अवस्था रहेको उनले औल्याएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख भण्डारीले तीन तहको सरकार क्रियाशिल रहेको अवस्थामा तीनै तहको सरकारले मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताए ।
सभामुख भण्डारीले प्रदेश १ मा कानुन निर्माणको क्रममा रहेकोले संबिधानमा उल्लेख भएको विषय कानुन निर्माण गरेर कार्यान्वायन लगिने स्पष्ट पारेका छन् । ‘धेरै मानव अधिकारका विषयहरू कानुन निर्माणसँग जोडिएको विषय भएकोले त्यस्ता विषयलाई कानुन निर्माण गरेर कार्यान्वायनमा लग्नु पर्छ, उनले भने, कतिपय विषयहरू कानुन निर्माणको क्रममा छ प्रदेश सभाबाट कानुन बनेर चाँडै आउने क्रममा रहेको छ ।’
बाहिरबाट हेर्दा काम नभएको जस्तो देखिएपनि प्रदेश सभाबाट सन्तोषजनक काम भएको उनले स्पष्ट पारे । कार्यक्रममा बोल्दै बिराटनगर महानगरपालिकाका नव निर्वाचित मेयर नागेश कोईरालाले मानव अधिकारको विषय हरेक क्षेत्रमा जोडिएर आउने विषय भएकोले यस बारेमा सबैको ध्यान जानु पर्ने बताए । महानगरपालिकाको जनप्रतिनिधिमा भर्खरै निर्वाचित भएर आएकोले धेरै विषयहरू बुझ्दै गएको उनले बताए ।
मानव अधिकारमैत्री व्यवहार कार्यालयबाट नै शुरु हुने खालका काम हुने उनले बताए । महानगरपालिका मानव अधिकारको विषयमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरे, प्रदेश १का मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठ, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख जिल्ला अधिकारी काँशीराज दाहाल लगायतले मानव अधिकारको विषय सबैको विषय भएको बताए ।
मानव अधिकारका विषय एउटाको मात्र जिम्मेवारी हो भनेर पन्छिन नमिल्ने भन्दै सबैको उत्तिकै दायित्व हुनेमा जोड दिए । मानव अधिकार आयोगका प्रदेश १ का प्रमुख नितु गड्तौलाले प्रदेश १ मा भएको मानव अधिकार उल्लंघनको अवस्थाको बारेमा जानकारी गराएकी थिइन् ।








