पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्ने मेयरको पहिलो निर्णय

पोखरा । पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गरेका छन्।

बिहीबार पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय नै पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकारसमक्ष पहल गर्ने बताएका हुन्। ‘विश्वकै चिरपरिचित सुन्दर नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्ने गरी नेपाल सरकारबाट निर्णय हुन मन्त्रीपरिषद्समक्ष पेश गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गर्दछु,’ उक्त निर्णयमा भनिएको छ।

यस्तै, पोखराको सम्पूर्ण पहिचान झल्कने गरी स्मारक निर्माणको लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरिएको छ। यसका लागि देशव्यापी रूपमा प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावलाई २ लाख नगदसहित पुरस्कृत गरिने बताइएको छ। उक्त प्रस्ताव थ्रिडी स्केचमा तयार गर्नुपर्ने शर्त राखिएको छ।

यसबाहेक, व्यक्तिगत घटना दर्तालाई सहज र सर्वसुलभ बनाई समयभित्र घटना दर्ताका लागि प्रोत्साहन गर्ने र विपन्न नागरिकहरूलाई वडा कार्यालयको सिफारिसमा पोषण भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ। भत्ताको रकम भने तोकिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *