मनाङमा ६० जनाको आँखाको शल्यक्रिया

काठमाडौँ । हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो ।

विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताए । उनका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरूको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो ।

तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सन्दुक रोहितको संयोजकत्वमा आठ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेको थियो । हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए ।

आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा. रोहितले बताए । बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्क रूपमा गरिएको उनको भनाइ छ ।

नार्पाभूमि गाउँपालिका नार गाउँका ८४ वर्षीय फुन्जो ओङ्जेन लामाको आँखामा समस्या भएर उपचार गराउन कठिन भइरहेको अवस्थामा नजिकै उपचार गराउन पाएकामा खुसी लागेको बताए । “गाउँबाट आँखा जचाउन चामे आएको थिएँ, काठमाडौँ वा पोखरालगायत ठाउँमा जानुपर्ने बेला यहीँ उपचार पाउने भएपछि गाउँबाट चामे झरेको हुँ”, उनले भने, “सजिलो भयो, यही आँखाको शल्यक्रिया गरिएको र चिकित्सकले ठीक हुने बताएका छन् ।”

गाउँघरमै आँखा परीक्षणको व्यवस्था भएकामा मनाङवासी हर्षित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *