दैलेख दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुल्यो

सुर्खेत । बुधबार राती दैलेखको आठबीस नगरपालिका-२ को सिस्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका-९ का वर्ष ३६ को काँशिराम पाण्डे र वर्ष ३२ को प्रेम सुनार रहेका छन् । दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका-३ का अन्दाजी वर्ष ४६ को ज्ञानबहादुर बम, अन्दाजी वर्ष ५५ को धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार सामान्य चोटपटकदेखि लिएर गम्भीर गरी ३९ जना घाइते छन् । घाइतेहरू सबैलाई गएराती नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको साहले बताए । बसमा झन्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट कर्णाली नदीको छेउमा खसेको थियो ।

साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो, त्यसको यकिन कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *