उपमहासचिव गुरुङकाे आरोप- गठबन्धनले पैसाको खोलो बगाएर परिणाम उल्ट्यायो

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनले पैसाको खोलो बगाएर चुनावको नतिजा उल्ट्याएको आरोप लगाएका छन् । पोखरामा उपमेयर सहित विजयी उम्मेद्वारलाई शुभकामना दिने क्रममा उनले एमाले विरुद्ध सबै शक्ति एकातिर लागेर हराएको बताए ।

‘हाम्रो पार्टीको जिल्ला अधिवेशन, महानगर अधिवेशनमा संगठित सदस्य बढेको कारण ६ हजार मतले चुनाव जित्न सक्छौँ भन्ने अपेक्षा थियो । ३३ वडामध्ये ३० वडा जित्न सक्छौं भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर यसबीचमा सत्ता गठबन्धनले ब्यापक राज्यसत्ताको दुरुपयोग गर्यो । पैसाको खोलो बगायो र पोखराको कुनाकुनामा रहेका बस्तीमा पैसाको खोलो बगाएर निर्वाचन परिणाम उल्ट्याउने प्रयास गर्याे ।’

उनले एमालेबाहेक शक्तिहरुको घेराबन्दीका कारण पनि चुनाव हार्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । ‘जसरी हामी घेराबन्दीमा परेका थियौं, सम्पूर्ण मुलुकका ठूला शक्तिहरु हाम्रो पार्टी विरुद्ध लागे । त्यसले पनि केही असहजता सिर्जना गर्याे,’ अघि भने, ‘हामीलाई दु:ख यसमानेमा छ कि हाम्रो मेयरको उम्मेद्वार पराजीत हुनुभएको छ । उहाँलाई चुनाव जिताउन सकेनौं । पार्टीको तर्फबाट सहानुभूति ब्यक्त गर्दछु, हाम्रो मोर्चाको नेतृत्व गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु ।’

गुरुङले पोखराको नेतृत्व अव उपमेयरले गर्ने बताए । ‘उपमेयर अत्यधिक मतले चुनाव जित्नुभएको छ । मेयर हारेपनि उपमेयर जित्नुभएको छ । हामीले चुनाव जितेका छौं । नगरसभामा हाम्रो बहुमत प्राप्त भएको छ,’ भन्छन्, ‘हामी कार्यपालिकामा पनि बहुमत पुग्छौं । नगरसभामा बहुमत छ । त्यसको नेतृत्व उपमेयरले गर्नुहुन्छ । यसअर्थमा हामीले चुनाव जितेका छौं ।’ तर गुरुङले भनेजस्तो पोखराको कार्यपालिकामा एमालेको बहुमत छैन । उनले कार्यपालिका ३५ सदस्यीय हुने र त्यसमा एमालेले ९ वडाध्यक्ष सहित उपमेयर र पछि थपिने ८ जना जोडेर १८ एमालेसँग हुने र बाँकी पद गठबन्धनको भन्दै आफुहरु बहुमतमा रहेको दावी गरे । तर पोखरामा कांग्रेस सहित गठबन्धनले २५ सीटमा चुनाव जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *