पोखरा महानगरको मतपरिणाम

एमालेले जोगाउन सकेन पुरानो मत, मेयरमा घट्यो करिब ८ हजार मत

पोखरा । २०७४ को स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसी ६० हजार १ सय १८ मतसहित मेयरमा विजयी भएका थिए । १ लाख ६८ हजार ६७ मतदाता रहेको पोखरामा त्यतिबेला १ लाख २५ हजार ८ सय ६८ मत खसेको थियो । जिसीले १३ हजार ७ सय २ मतान्तरसहित कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए ।

अहिले एमालेले तत्कालीन समयमा ल्याएको मतसमेत जोगाउन सकेको छैन । एमालेका मेयर उम्मेदवार कृष्ण थापाले अहिले ५२ हजार ८ सय ४८ मत पाएका छन् । अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् भने १ लाख ४३ हजार १ सय १० मत खसेको थियो । जुन मत २०७४ को भन्दा १७ हजार २ सय ४२ मत बढी हो ।

एकातिर बढी मत खस्नु र अर्कोतिर पहिलेकै मत समेत जोगाउन नसक्नु यसपालि एमालेको लज्जास्पद हार हो । मेयरले मात्रै होइन, उपमेयर समेत पुरानो मत बल्लबल्ल जोगाउन सफल भएकी छिन् । उपमेयरमा निर्वाचित मन्जुदेवी गुरुङले ६० हजार ३ सय ७२ मत पाइन् । तर थपिएका मतदाताको मत भने उनले पनि पाएकी छैनन् ।

मेयरमा ४६ हजार मत पाएको कांग्रेससँग अहिले आफ्नै उम्मेदवार थिएनन् । कांग्रेसले गठबन्धनकै उम्मेदवारलाई मत दिँदा धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत ल्याएका छन् । यसमा माओवादी र जनमोर्चाको मतसमेत जोडिन्छ । यता गठबन्धनबाटै चुनाव लडेकी कांग्रेसकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले ५७ हजार ५८ मत पाइन् ।

उनी पनि गठबन्धन उम्मेदवार भएकोले कांग्रेसको मत कति भन्ने यकिन गर्न मुस्किल छ । तर कांग्रेसले पुरानो मत भने संरक्षण गर्दै केही थपेको आकलन सजिलै गर्न सकिन्छ । पोखराका ३३ वडामध्ये २३ वडाको अध्यक्षमा कांग्रेस र ९ वडामा एमाले तथा १ वडामा गठबन्धनबाटै स्वतन्त्र उम्मेदवार जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *