बागलुङमा १० प्रतिशत मत बदर

काठमाडौँ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ।

बागलुङका १० स्थानीय तहको प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १० दशमलव ६३ प्रतिशत मत बदर भएको हो। कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये ६३ दशमलव ६० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६९ मत खसेकामा ८९ दशमलव ३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए।

शर्माका अनुसार मतदाता सङ्ख्या एक लाख ९३ हजार भए पनि एक मतदाताले सात चिह्नमा मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताएका हुन्। “एकजना मतदाताले सातपटक सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जसमध्ये एक हजार ९ मतपत्र पूर्णरूपमै बदर भएको पाइयो”, शर्माले भने। उनका अनुसार सात पदमध्ये केही पदमा मात्रै मत बदर भएको सङ्ख्या १३ हजार बढी छ। यसमध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबैभन्दा बढी मत गठबन्धका कारण बदर भएको मतगणनाका क्रममा पाइएको बताएका छन्। उनले एउटै मतपत्रको तलमाथि चिह्नमा मत लगाउँदा बढी बदर भएको पाइएको बताउँदै लस्कारै चिह्न लाउने मतदाताको मत कम सङ्ख्यामा बदर भएको बताए। उनले पूर्ण रूपमा मत बदर भएकोमा मतपत्रभन्दा बाहिर मतदान गरेको लगायतका समस्या देखिएको छ।

मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक–फरक पार्टीका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ। १० स्थानीय तहमा ८५ वडा रहेको बागलुङमा निर्वाचित हुने ४४५ पदका लागि एक हजार १९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। बागलुङ जिल्लामा निर्वाचन पश्चात नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले एक पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख र ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन्।

बागलुङका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहणपछि कार्यभार सम्हालीसकेका छन्। उनीहरूले पहिला बैठक बसेर केही लोकप्रिय निर्णयसमेत गरिसकेको जनाइएको छ। अहिले निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ गएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *