पोखरा महानगर : दुई तिहाइ वडाध्यक्ष जितेको कांग्रेसले गुमायो उपमेयर

पोखरा । पोखरा महानगरमा मेयर गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएकी छिन् । पोखराको रिजल्ट अनौठो आएको छ । महानगरभित्र कार्यपालिका सदस्यमा कांग्रेसको बहुमत हुने भएको छ भने नगरसभामा एमालेको बहुमत भएको छ । मेयरको चुनाव अल्पमतबाट (एक्लै) एकीकृत समाजवादीले जिते ।

३३ वडा मध्ये ३१ को नतिजा आएको छ । हालसम्म कांग्रेसले २१ वडामा जीत हासिल गरेको छ । एमाले १० वडामै सीमित भयो । गन्न बाँकी २ वडामा कांग्रेसको अग्रता छ । यसअघि एमालेले दुई तिहाइ अर्थात् २१ वडामा अध्यक्ष चुनाव जितेको थियो । कांग्रेस ११ वडामा जितेर निकै तल थियो । नगरसभामा बहुमत भएका कारण एमालेले पछि थप्ने ८ जना कार्यपालिका सदस्य पाउनेछ । संविधानतः ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यकबाट कार्यपालिकामा थप्ने व्यवस्था छ ।

उनीहरूलाई नगरसभा सदस्यले भोट हालेर चयन गर्छन् । दुई तिहाइ वडामा अध्यक्ष जितेको कांग्रेसले गठबन्धनबाट मेयरका उम्मेदवारलाई चुनाव जितायो । तर आफ्नै पार्टीकी उपमेयरलाई भने जिताउन सकेन । यहाँ मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार थिए । रानाभाट भने चुनाव हारेकी छिन् ।

कांग्रेसभित्रैबाट सहयोग नपाएको र उनै आफैमा समुदायसँग घुलमिल नभएका कारण चुनाव हारेको आकलन गरिएको छ । उपमेयर गुमाएको कांग्रेस विजयी र्‍यालीमा जाने वा नजाने दोधारमा छन् । कांग्रेसका केही नेताहरूले सामाजिक सञ्जालमा स्टाटस नै लेखेर ¥यालीमा जान दोधार भएको बताइरहेका छन् । अर्को कुरा मेयरमा भने कांग्रेसले इमानदार भएर मतदान गरेको र एमालेको मत समेत खोस्न सफल भएकोले गठबन्धनबाट मेयर चुनाव जितेका हुन् । आचार्यलाई भोट हालेका एमालेका मतदाताले कोपिलालाई भने हालेनन् ।

‘कांग्रेसको भोट घात भएको छैन । मेयरलाई कांग्रेसले सहज हाल्यो,’ जिल्ला सचिव भानु ढकाल भन्छन्, ‘अहिले कसैलाई दोष लगाउने अवस्था छैन । कांग्रेसले आफ्नो भोट जोगाएको छ । तटस्थ भोटहरूमा खेल्न सकेनौँ ।’ समग्रमा पोखराको चुनाव कांग्रेसका लागि प्राप्ति नै भएको उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *