५ हजार मत गन्न बाँकी छँदै पोखराको मेयरमा आचार्य विजयी

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । ५ हजार मत गन्न बाँकी छ । तर आचार्यले गन्न बाँकी मत भन्दा हालसम्मको मतान्तर बढी बनाएपछि उनी विजयी भएका हुन् ।

खसेको १ लाख ४३ हजार २ सय २६ मतमध्ये आज बिहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।  मेयरमा आचार्य ५ हजार २ सय ८६ मतान्तर सहित अगाडि छन् । आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।

राप्रपाका शंकर खरालले ५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय ८६ मत पाए ।

उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जीत नजिक छिन् । उनी ४ हजार ३५ मतान्तरले अगाडि छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत ल्याएकी छिन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५ सय ४७ मत पाएकी छिन् ।

उपमेयरमा राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् । हालसम्म ३० वडाको गणना सकिएको छ । वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गन्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *