जसले पालिकालाई उत्कृष्ट बनाए, चुनावमा उनै हारे

पोखरा । ५ वर्षमा उत्कृष्ट नगरपालिका बनाएको भन्दै नगरपालिका संघले २ महिनाअघि केही विधामा नगर प्रमुखलाई सम्मान गर्‍यो ।

१० नगरपालिकामध्ये स्याङ्जाकै २ पालिका छनोट भए । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनतर्फ उत्कृष्ट नगरपालिका घोषित भए ।

वालिङका मेयर दीलिप खाँड र पुतली बजारकी मेयर सीमा क्षेत्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानित गरे । उनीहरू प्रदेशमै चर्चामा रहेका मेयरहरू हुन् । खाँडले विशेष गरी फोहोरको व्यवस्थापन र नगरको स्वरूप निर्धारणमा केही मेहनत गरेका थिए ।

संयोग, उत्कृष्ट दुवै मेयरलाई पार्टीले पुनः टिकट दियो । खाँड काङ्ग्रेसबाट र क्षेत्री एमालेबाट उम्मेदवार बनेका हुन् । तर दुवैजना यसपालिको निर्वाचनमा पराजित भए । एमालेका कृष्ण खाँडसँग उनी २ हजार १ सय ८३ मत अन्तरले पराजित भए । विजयी कृष्णले १३ हजार ७ सय ७६ मत पाउँदा उनले ११ हजार ५ सय ९३ मात्रै पाए । तर वालिङको उपमेयरमा भने काङ्ग्रेसकै कल्पना तिवारी विजयी भइन् ।

उनले एमाले उम्मेदवारलाई ४ सय ८२ अन्तरले पराजित गरेकी हुन् । कल्पनाले १२ हजार ८ सय २२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी खगिसरा थापाले १२ हजार ३ सय ४० मत पाएकी छन् । यता पुतली बजारमा पनि मेयरमा क्षेत्री काँग्रेस उम्मेदवार तुलसी रेग्मीसँग २ हजार ४ सय ४ मतान्तरले पराजित भइन् ।

उनले १० हजार ९० मत पाउँदा रेग्मीले १२ हजार ४ सय ९४ मत पाएका थिए । उपमेयरमा पनि काँग्रेस उम्मेदवार विजयी भएका छन् । एमालेका महेश पुरी ९ सय ८७ मत अन्तरले काङ्ग्रेसकी देवी अर्यालसँग पराजित हुन पुगे । पुरीले १० हजार ७ सय ६१ मत ल्याउँदा अर्यालले ११ हजार ७ सय ४८ मत पाएकी थिइन् । पुरी पनि दोस्रो कार्यकालका लागि चुनाव लडेका हुन् ।

प्रतिक्रिया

One thought on “जसले पालिकालाई उत्कृष्ट बनाए, चुनावमा उनै हारे

  1. कल्पना तिवारी हैन कबिता तिवारी हो उप मेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *