मोरङका १७ पालिकाका प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर । मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको सपथ लिएका छन् ।विराटनगर महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७ वटै पालिकाका प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति ईङ्नाम, लेटाङ नगरपालिकाका भूपेन्द्र लावती, केराबारी गाउँपालिका, सुमन मिरिङचिङ, सुनवार्षी नगरपालिका श्याम राजवंशी, सुन्दर हरैँचा नगरपालिका केदारप्रसाद गुरागाईँ, रंगेली नगरपालिकाका दिलीपकुमार अग्रवाल, उर्लाबारी नगरपालिका गंगा खरेल, पथरीशनिस्चरे नगरपालिका मोहन तुम्बापो, बेलवारी नगरपालिकाका दिलप्रसाद राईले शपथ लिए ।

त्यस्तै मिक्लाजुङ गाउँपालिका बबी राई, ग्रामथान गाउँपालिका, जयप्रकाश चौधरी, कटहरी गाउँपालिका देवराज चौधरी, रतुवामाई नगरपालिका नागेश्वरप्रसाद सिंह गन्गाई, जहदा गाउँपालिकाका जितेन्द्रप्रसाद साह, धनपालथान गाउँपालिकाका जिवछ गच्छदार र बुढीगंगा गाउँपालिकाका जीतनारायण थापामगरले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भरत लम्सालले शपथ ग्रहण गराए ।

शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले नव निर्वाचित जनप्रतिनिधिले नागरिकका जनजीविकाको विषयलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । नागरिकका प्राथमिकताका विषयहरू जनप्रतिनिधिका प्राथमिकताको विषय बन्नु पर्छ, उनले भने, अघिल्ला जनप्रतिनिधिहरूले सुरु गरेका कामहरूपनि पुरा गर्नु पर्ने दायित्व नव निर्वाचित जनप्रतिनिधिमा छ । उनले यस अघिका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्न पनि उनले आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश काेइरालाले सबैको साझा जनप्रतिनिधिको रूपमा निर्वाचित जनप्रतिनिधिले काम गर्नु पर्ने बताए । कानेपोखरी गाउँपालिकाकी प्रमुख राजमति ईङ्नामले एक कार्यकाल उपाध्यक्ष भएर चलाएको अनुभावको आधारमा अध्यक्षको जिम्मेवारी पाएको उनले धन्यवाद दिँदै थप ५ वर्ष राम्रो काम गरेर देखाउने बताइन् ।

प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले दलको सुझबुझ, समन्वय र सहकार्यले मोरङ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए । ‘यदि दलहरूसँगको समन्वय नभएको भए यति चाँडो काम हुने थिएन, उनले भने, दलहरूको सुझबुझ र सहयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन पाएकोमा खुसी लागेको छ ।’

मोरङ जिल्लामा नेकपा एमालेले मोरङ जिल्लाको ८ वटा पालिकामा प्रमुख उपप्रमुख नै जितेको छ । भने एक पालिकामा प्रमुख मात्र र ४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ३ वटा पालिकामा प्रमुख उपप्रमुखमा दुवै जितेको छ भने ५ वटा पालिकामा प्रमुख मात्र निर्वाचित भएको छ । नेपाली कांग्रेसले बेलवारी र नेकपा माओवादी केन्द्रले मिक्लाजुङमा उपप्रमुख जितेका छन् ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *