वीरेन्द्रनगरमा मेयर/उपमेयरमा उम्मेदवार उठेकासहित २१ जनाको धरौटी जफत

सुर्खेत । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतगणना अनुसार वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका २१ जनाको धरौटी जफत भएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारले कुल गणना भएको सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको स्वतः धरौटी जफत भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि कुल ४२ हजार पाँच सय ३० सदर मत गणना भएको थियो । यो मतलाई आधार मान्ने हो भने धरौटी रकम जोगाउन पाउनु पर्ने १० प्रतिशत मत अनुसार चार हजार दुई सय ५३ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

तर, मेयरका लागि चुनाव लडेका वीरेन्द्रनगरका १३ जना मध्ये १० जनाले आफ्नो धरौटी रकम जोगाउनै सकेनन् । नेकपा (एकीकृत समाजवादी) बाट मेयर पदकी उम्मेदवार धनकुमारी जिसीले चार सय ६० मत प्राप्त गर्दा धरौटी जोगाउन सकिनन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीलेसमेत धरौटी जोगाउन सकेनन् । योगीले दुई सय ५९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका गोगनबहादुर सारुको पनि धरौटी जफत भएको छ । सारुले एकसय ८ मत प्राप्त गरेका छन् ।

यस्तै, विष्णुप्रसाद शर्माले ६७ मत प्राप्त गरेका छन्। उनी राष्ट्रिय जनमोर्चाका हुन् । ‘धारा’ चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका भीमप्रसाद शर्माले पनि धरौटी वापतको रकम जोगाउन सकेनन् । शर्माले २६ मत प्राप्त गरेका छन् ।

यसैगरी धरौटी रकम गुमाउनेहरूमा स्वतन्त्र उम्मेदवार उमानन्द पंगाली २४, राष्ट्रिय प्रजान्त्र पार्टी नेपालका टंकप्रसाद रेग्मी २०, नेपाल दलित पार्टीका नीलकण्ठ भुसाल १८, नेपाल परिवार दलका दिनेशप्रसाद काफ्ले १६ र राष्ट्रिय नागरिक पार्टीका टिकाराम रेग्मीले ४ मत प्राप्त गरी जमानत रकम गुमाएका हुन् ।

यस्तै उप्रमुख पदमा ३७ हजार ९ सय ७७ सदर मत गणना हुँदा धरौटी जोगाउनका लागि तीन हजार सात सय ९७ मत प्राप्त गर्नुपर्ने हुन्छ । उपमेयर पदका लागि १३ जनाको उम्मेदवारी परेकोमा ११ जनाले धरौटी रकम जोगाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयर पदको उम्मेदवार बनेकी लक्ष्मीकुमारी सार्कीले पनि जमानत वापतको रकम जोगाउन सकिनन् । धरौटी जोगाउनका लागि आवश्यक पर्ने मत नजिक पुगेकी सार्कीले तीन हजार ६ सय ९७ मत प्राप्त गर्दा धरौटी रकम जोगाउन सकिनन् ।

यस्तै, उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अनिल ढकालले हजार मत पनि पुर्‍याउन सकेनन् । ढकालले ९ सय ५६ मत प्राप्त गरी जमानत रकम गुमाए । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीले यसपालि धेरै मत ल्याउने आंकलन गरिएको थियो । तर, समाजवादीले पनि उपमेयरमा हजार मत पुर्‍याउन सकेन ।

समाजवादीबाट उपमेयरका उम्मेदवार बनेका विरबहादुर रावतले जम्मा ८ सय ८८ मत प्राप्त गरे । यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि विरासत जोगाउन सकेन । नेमकिपाका विजुकला रानाले दुई सय १६ मत प्राप्त गरी जमानत रकम गुमाइन । उपमेयरमा जमानत रकम गुमाउनेहरूमा जनमोर्चाका कृष्णाकुमारी रावल पनि परकी छन् । उनले ९६ मत प्राप्त गरिन ।

यस्तै स्वतन्त्र उम्मेदवार भोजप्रसाद चपाई ६२, जसपाकी सन्तोषी विश्वकर्मा ५९, नेकपा माओवादी (समाजवादी) का विमला पुनमगर ५४, नेपाल दलित पार्टीकी भूमिसरा विक २३, नेकपा समाजवादीकी डिलमाया आलेमगर २१ र राष्ट्रिय नागरिक पार्टीका पवित्राकुमारी शर्माले ४ मत प्राप्त गरी जमानत गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *