९ उपमहानगरकाे चुनावी नजिता सार्वजनिक : २ स्वतन्त्रले जित्दा २ एमालेकाे पाेल्टामा, गठबन्धनसँग ५ मात्रै

काठमाडौँ । देशका ११ उपमहानगरपालिकामध्ये ९ उपमहानगरपालिकाका चुनावी नतिजा सार्वजनिक भएको छ । जनकपुर र तुल्सीपुरबाहेक अन्य सबै उपमहानगरपालिकाका चुनावी नतिजा सार्वजनिक भइसकेका छन् । चुनावी नतिजा सार्वजनिक भएका उपमहानगरपालिकाहरूमा इटहरी, कलैया, जीतपुरसिमरा, हेटौँडा,  बुटवल, घोराही, नेपालगञ्ज, धनगढी र धरान छन् ।

९ मध्ये ५ वटामा गठबन्धनको जित भएको छ भने २ वटा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले लिएको छ । यस्तै धनगढी र धरानमा स्वतन्त्र उम्मेदवारद्वय गोपाल हमाल र हर्कराज साम्पाङले जितेका छन् । गोपालले त्यहाँ गठबन्धन र एमाले दुवैलाई चुनौती दिँदै जित निकालेका हुन् । गोपालले गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा १२ हजार ४८ बढी मत ल्याए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नृपबहादुर १४ हजार ८ सय १७ मतमै सीमित भए । यस्तै धरानमा हर्कराजको पक्षमा २० हजार ८ सय २१ मत पर्‍यो । उनले पनि गठबन्धन र एमाले दुवैलाई चक्मा खुवाउँदै जित निकालेका हुन् । एक दशकयता ’पानी अभियन्ता’का रूपमा चिनिएका उनले गठबन्धनका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मञ्जुदेवी भण्डारीलाई हराउँदै मेयरमा निर्वाचित बनेका हुन् ।

यसपटक महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलहरू (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा) गठबन्धनकै रूपमा होमिएका थिए । यसपछि गठबन्धनले ९ मध्ये ५ ठाउँमा जित निकाल्न सफल भएको हो । अब चुनावी नतिजा सार्वजनिक हुन २ वटा उपमहानगरपालिका छन् ।

एमालेले बाराको कलैया र दाङको घोराही उपमहानगरपालि हो । कलैयामा एमालेका उम्मेदवार विनोदप्रसाद साह निर्वाचित बनेका छन् । उनले २४ हजार १ सय ३९ मत बटुल्दै मेयरमा बाजी मारे । उनले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता राजेशराय यादवलाई ५ हजार ५ सय ९९ मतले हराए । यादवको पक्षमा बल्लबल्ल १८ हजार ५ सय ४० मत मात्रै खस्यो ।

घोराहीमा पनि एमालेकै नेरुलाल चौधरी निर्वाचित भए । उनी ३१ हजार ७ सय २८ मतसहित मेयरमा निर्वाचित हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मतै खुम्चिनुपर्‍यो । नेरुलाले हेमराजलाई ५ हजार ३ सय ६० मतले पछाडि पारे ।

यसबाहेक अन्य ५ उपमहानगरपालिकामा भने गठबन्धनले जित निकालेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले जितेको छ । त्यहाँ कांग्रेस नेता हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सहयोगमा पौडेलले ३३ हजार ४९ मत ल्याएर मेयरमा निर्वाचित भए । उनले एमालेका यामकुमार चुम्बाङलाई ५ हजार १८ मतले पछाडि पारे । त्यहाँ यामबहादुरको २८ हजार ३१ मत खस्यो ।

त्यहाँ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार आकाशहाङ लिम्बुले ३ हजार ६ सय ४४ मत पाए ।

उता बारको जीतपुरसिमरा उपमहानगरपालिकामा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता राजन पौडेल मेयरमा निर्वाचित भए । राजन १३ हजार ४ सय ८७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरीले १२ हजार ५ सय ८० मत प्राप्त गरिन् । सरस्वतीदेवी राजनभन्दा ९ सय ७ मतले पछाडि परिन् ।

त्यहाँ महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार सञ्जयकुमार साहले २ हजार ५ सय ५८ मत पाए ।

यस्तै हेटौँडाको हेटौँडा उपमहानगरपालिकामा पनि गठबन्धनले नै बाजी मारेको छ । त्यहाँ एकीकृत समाजवादीकी नेतृ मीनाकुमारी लामा निर्वाचित भइन् । उनको पक्षमा २३ हजार ७५ मतदाताले मतदान गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पौडेलले पनि २० हजार ९ सय ८ मत पुर्‍याए । अनन्तप्रसाद मीनाकुमारीभन्दा २ हजार १ ६७ मतले पछाडि परेका हुन् ।

त्यहाँ राप्रपा पनि एमालेकै दाँजोमा दह्रो देखिएको छ । राप्रपाका तर्फबाट उम्मेदवारी दिएका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत बटुलेका छन् । यो भनेको एमालेका अनन्तप्रसादको भन्दा ३ सय ७७ मतमात्रै कम हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि गठबन्धनकै जित भएको छ । त्यहाँ कांग्रेस नेता लेखराज पाण्डेय निर्वाचित भएका छन् । उनले ३० हजार १ सय ३० मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९५ मत पाए । उनी लेखराजसँग ७ हजार ५ सय ३२ मतले पराजित भए ।

यस्तैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेस नेता प्रशान्त विष्ट निर्वाचित बने । उनी पनि गठबन्धनकै तर्फबाट निर्वाचित बनेका हुन् । उनले २३ हजार ४ सय ६० मत पाउँदा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

प्रशान्तको यो मत दयालको भन्दा ११ हजार ७ सय ८५ मतले बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *