सुर्खेतका सबै निर्वाचित प्रमुखहरूले लिए सपथ

सुर्खेत । आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको प्रदेश राजधानी सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले आइतबार पद तथा गोपनीयताको पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित पालिका प्रमुखहरूलाई जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले शपथग्रहण गराएका हुन् ।

देश सङ्घीयतामा गएसँगै २०७४ वैशाख ३१ गते सङ्घीयताको अभ्यास स्वरूप पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । विगत २२ वर्षको लामो समय नेतृत्वविहीन रहेको स्थानीय तहको शून्यतालाई चिर्दै २०७४ ज्येष्ठ ९ गते पाँच वर्षे कार्यकालका लागि सुर्खेतका जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

गत ज्येष्ठ ६ गतेबाट पाँच वर्षे कार्यकाल सकिएपछि २०७४ मा निर्वाचित भएका जनप्रतिनिधिको पद स्वतः खारेज भएको छ । आइतबार पद तथा गोपनीयताको शपथ लिनेहरूमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल रहेका छन् ।

यस्तै, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द रहेका छन् । यसैगरी बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी, पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी र चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा पालिकाका प्रमुखहरूले आफ्नो कार्यकालमा निर्वाचनका बेला मतदाताले राखेका अपेक्षा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । शपथ ग्रहणपछि बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिका प्रदेशकै प्रवेशद्वारको नगरपालिका भएकोले पूर्वाधार विकास र सामाजिक न्यायको सिद्धान्तलाई एकसाथ लैजाने प्रतिबद्धता जाहेर गरिन् । ढकालले भनिन् ‘स्थानीय तहलाई संविधानले दिएको अधिकारको भरपुर सदुपयोग गर्दै समृद्ध नगर निर्माण गर्नमा सदा ध्यान केन्द्रित गर्नेछु ।’

त्यस्तै, बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले सूचना, सञ्चार, कृषि तथा रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर आफूले पाँच वर्षको कार्यकालमा काम गर्ने बताए ।

यस्तै, शपथग्रहण समारोहमा बोल्दै भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुशासन, भ्रष्टाचार न्यूनीकरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले आफ्नो कार्यकालमा सडक, बिजुली, पर्यटन पूर्वाधार विकासमा विशेष योगदान दिने बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पदभार सम्हाल्नुअघि शपथग्रहण गर्नुपर्ने कानुनी व्यवस्था छ । पालिका प्रमुखहरूले पदरभार सम्हाली सकेपश्चात उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ खुवाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *