कर्णालीका ७९ वटै पालिकाको नतिजा सार्वजनिक, ३२ पालिकामा कांग्रेसको बाजी

सुर्खेत । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशका ७९ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेलेलाई यस पटकको अन्तिम परिणामअनुसार नेकपा एमालेलेलाई ठूलाे धक्का लागेको छ ।

२०७४ को निर्वाचनबाट कर्णालीका २६ पालिकामा नेतृत्व लिएर पहिलो दल बनेको एमाले अहिले १५ पालिकामा खुम्चिएर तेस्रो दलमा चित्त बुझाउँनु पर्ने भएको हो ।

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा २४ पालिका जितेको थियो । अहिले ७९ मध्ये ३२ पालिकामा नेतृत्व पाउँदै कर्णालीमा पहिलो दल बनेको छ ।

अघिल्लो निर्वाचनमा दोस्रो बनेको माओवादी अहिले पनि दोस्रोमै सीमित छ । तर, गएको निर्वाचनभन्दा अहिले माओवादीले कम पालिका जितेको छ । पहिले २५ पालिका जितेको थियो भने अहिले २३ वटा पालिका मात्र जित हात पारेको हो । माओवादीले अहिले कांग्रेससँग गठबन्धन गरे पनि कर्णालीमा पहिलेको जति पालिकामा जित्न नसकेको हो ।

माओवादीको बलियो पकड मानिने रूकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकाको नेतृत्व कांग्रेसले माओवादीबाट खोसेको छ । यस्तै, माओवादीले यसपटकको निर्वाचनबाट पहिले एउटा पालिका पनि नजितेका जिल्लाहरू दैलेखमा दुर्इ वटा र सुर्खेतमा एउटा पालिकामा प्रमुख जितेको छ ।

नेकपा एमालेले अहिलेको निर्वाचनबाट कर्णालीका पाँच वटा जिल्लाका कुनै पनि पालिकाको नेतृत्व लिन सकेको छैन् । रूकुम पश्चिम, हुम्ला, कालीकोट, जुम्ला र मुगुका पालिकाहरूमा एमालेले नेतृत्व लिन सकेको छैन् । २०७४ मा एमालेले हुम्लामा १, मुगुमा १, जुम्लामा १, कालीकोटमा ३ पालिका जितेको थियो । अहिलेको निर्वाचनबाट एमालेले सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका २ र सल्यानका २ पालिकासहित १५ पालिकामा नेतृत्व पाएको छ ।

माओवादी केन्द्रले रूकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरेकोटको १, हुम्लाका ३, कालीकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व पाएको छ । नेपाली कांग्रेसले रूकुम पश्चिममा २, सुर्खेतका ४, जाजरकोटका ३, हुम्लाका ३, कालीकोटका २, जुम्लाका ५, मुगुका २, डोल्पाको १, सल्यानका ५ र दैलेखका पालिकासहित ३२ पालिकामा नेतृत्व पाएको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) ले डोल्पाका २, मुगु र सल्यानका १र१ पालिकासहित ४ पालिकाको नेतृत्व लिएको छ । अहिलेको स्थानीय तह निर्वाचनबाट ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुखरअध्यक्ष जितेका छन् ।

हुम्लाको चंखेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सन्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *