किशोरी बलात्कारको घटना छानविनमा सहयोग गर्न सबैलाई गृहको आग्रह

काठमाडौँ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा (किशोरी बलात्कृत) भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी यस्ता विषयमा शीघ्र छानविनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

‘पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानविन समिति गठन गरिएको र समितिबाट छानविनसमेत सुरु भइरहेको अवस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ’, गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले शुक्रबार गठन गरेको उक्त छानविन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गरेको तथा नागरिक समाजबाट कारवाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =