उल्टियो गोरखाको रिजल्ट, माओवादी बलियो कांग्रेस कमजोर

पोखरा । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले किल्ला गाडेको गोरखामा यसपटक भने नतिजा उल्टिएको छ। गोरखामा माओवादी केन्द्र बलियो देखिएको छ भने कांग्रेस कमजोर देखिएको छ।

अघिल्लो स्थानीय निर्वाचनमा अप्रत्यासित रूपमा कांग्रेसले जित्यो। ११ मध्ये ९ पालिका कांग्रेसले जित्दा माओवादीको पकड मानिएको गोरखा २ सीटमै खुम्चियो । ५ वर्षको अन्तरालमा यसपालि माओवादीले कांग्रेसको नतिजा ठ्याक्कै उल्ट्याइदिएको छ । २ नगरसहित ९ पलिका जितेको कांग्रेसले दुवै नगर गुमायो । २ पालिकामा मात्रै सीमित भयो, जुन यसअघि माओवादीको अवस्था थियो । अहिले माओवादीले २ नगरसहित ९ पालिका जितेको छ ।

गोरखाका ११ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख र ६ वटामा उपप्रमुख जितेको छ भने कांग्रेसले दुईवटा गाउँपालिकामा अध्यक्ष र पाँचवटामा उपप्रमुख जितेको छ । यसपाली पनि कांग्रेसले कम्तिमा ८ स्थानीय तहको प्रमुख जित्ने आकलन थियो ।

तर, सोचेजस्तो नतिजा नआएको बताउँछन् जिल्ला सचिव किशोर थापा । ‘टिकट वितरणदेखि ओभर कन्फिडेण्टले कांग्रेस पराजित भयो,’ उनले भने, ‘हाम्रो आन्तरिक रणनीति पुगेन ।’ पार्टीभित्रको अन्तरविरोधका कारण पनि केही ठाउँमा पराजय भोग्नुपरेको नेताहरुको निष्कर्ष छ ।

गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा माओवादी र जसपा मिलेका थिए । उता पालुङटारमा भने एमाले र जसपा मिलेका थिए । दुई ठूला पार्टीबीच गठबन्धन भएकै करण केही पालिकामा पराजीत हुनुपरेको थापाले बताए । गोरखा र गण्डकीमा जसपाको साथले माओवादी विजयी भएको छ । केही पालिकाहरुमा वडाध्यक्ष सहित प्यानल कांग्रेसले जित्दा पनि मेयर र उपमेयरमा कम मत आएर पराजीत भएको छ ।

माओवादी अध्यक्ष लेखबहादुर थापाचाहिँ आफूहरूकाे निरन्तरको मेहनत र जनताको विश्वासले राम्रो नतिजा निकाल्न सकेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *