पहिलोपटकमै जिल्लाकै ठूलो पार्टी बन्यो रेशमको नागरिक उन्मुक्ति

धनगढी । रेशम चौधरी संरक्षक रहेको नयाँ पार्टी यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा ठूलो पाटी बनेको छ । जिल्लाका १३ मध्ये चार स्थानीय तहमा विजय हाँसिल गर्दै नागरिक उन्मुक्ति पार्टी जिल्लाकै ठूलो पार्टी बनेको हो ।

पछिल्लो नतिजा अनुसार कैलालीको जानकी गाउँपालिकामा पनि विजय प्राप्त गरेसंगै नागरिक उन्मुक्तिले जिल्लामा चार पालिका आफ्नो नेतृत्वमा ल्याउन सफल बनेको छ । जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले ५ हजार २४२ मत पाए भने एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६ हजार ५२६ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि जित हात पारिसकेको छ । कांग्रेसले जिल्लाको गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र लम्कीचुहा नगरपालिकासहित तीन पालिकामा विजयी भएर दोस्रो भएको छ ।

नेकपा एमाले र माओबादी केन्द्रले दुई/दुई र एकीकृत समाजबादीले एक स्थानीय तह जितेको छ । जिल्लाको गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका माओवादी केन्द्र र चुरे गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा एमाले विजयी भएको छ ।

यस्तै घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको छ । धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । यहाँ हमालले जित्ने निश्चित जस्तै बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *