रूपाको पहिलो निर्णयः सबैलाई निशुल्क एम्बुलेन्स सेवा

पोखरा । कास्कीको रूपा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गरेका छन्।

दुवैजना लगातार दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ विजयी हुँदा कांग्रेसका उम्मेदवार पराजित भएका छन्। नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूले शुक्रबार सपथ लिएका छन्। सपथ ग्रहणलगत्तै अध्यक्ष र उपाध्यक्षले पदभार समेत सम्हालिसकेका छन्।

पदभार सम्हाल्दै अध्यक्ष नवराज ओझाले गाउँपालिकाभरीका सबै नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन्। ‘रुपा गाउँपालिका बासीहरूलाई बिरामी भएपश्चात उपचारका लागि पालिका अस्पताल र बाहिर लैजाने एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ, ‘यो निर्णय आगामी कार्यपालिका बैठकबाट अनुमोदन गराउने निर्णय गरियो।’

हाल रूपामा ३ वटा एम्बुलेन्स छन्। यसरी सेवा दिँदा मासिक डेढ देखि २ लाख खर्च निस्किने अनुमान छ। ‘आवश्यक परे एम्बुलेन्स थप्छौँ। तर कुनै नागरिक अस्पताल जाने पैसा नभएर घरमै थलिनुपर्दैन,’ ओझाले भने, ‘हामी नागरिकको सेवाका लागि आएका हौँ। जसरी पूरा गर्छौँ।’

यसैबीच, विभिन्न वडाका अध्यक्ष र जनप्रतिनिधिहरूले पनि पदभार सम्हालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *