दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ -खानेपानीमन्त्री उमाकान्त चौधरी

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध भएको बताएका छन्।

संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको ‘स्यानिटेशन एण्ड वाटर फर अल’द्वारा इन्डोनेसियाको राजधानी जकर्तामा आयोजित कार्यक्रममा उनले नेपालको संविधानअनुसार स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा नागरिरको पहुँच मौलिक हकका रुपमा स्थापित भएको र सोको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्व बढ्दै गएको उनले बताए। मन्त्री चौधरीले जलवायु परिवर्तनको असरबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा परिरहेको असर न्यूनीकरण गरी दिगो समाधान गर्न आवश्यक रहेको बताएका छन्।

उपयुक्त संस्थागत क्षमता विकास तथा थप लगानीको आवश्यकताको क्षेत्र पहिचान गरी सिकाइको आदानप्रदान गर्न सम्मेलनले योगदान पुग्ने उनले विश्वास व्यक्त गरे। मन्त्री चौधरीले सङ्घीय प्रणालीअनुरूप खानेपानी सरसफाइ र स्वच्छता सेवामा प्रभावकारीता कायम गर्न तथा चुनौतिको सामना गर्न तीन तहकै सरकार र सरोकारवालासँगको सहकार्य गरिँदै आएको उल्लेख गरे। उनले सहभागी विकास साझेदारलाई नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वानसमेत गरेका छन्।

जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरी जकर्ता पुगेका हुन्। सम्मेलनमा भाग लिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली पनि उनीसँगै गएको छ। मन्त्री चौधरी आज ‘बिल्डिङ फरवार्ड बेट्टर फर रिकोभरी एण्ड रिसाईलेन्स’ विषयमा भएको छलफलमा सहभागी भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =