गण्डकीको स्थानीय चुनाव : कांग्रेस–एमालेलाई नोक्सान, माओवादीलाई मालामाल

पोखरा । १५ पालिकामा कांग्रेसले प्रमुख उपप्रमुख नै जित्दा एमालेले २४ पालिकामा प्रमुख उपप्रमुख जितेको छ । माओवादीले भने ७ पालिकामा प्रमुख उपप्रमुख जितेको छ ।

तीमध्ये गोरखामै ६ वटा छन् भने तनहुँमा अर्को एउटा छ । कांग्रेसले अघिल्लो चुनावमा भन्दा ९ स्थान कम अर्थात ३५ वटा पालिका प्रमुख जितेको छ । यसअघि २०७४ को चुनावमा ४४ वटा प्रमुख जितेको थियो । कांग्रेसलाई खासगरी गोरखा र नवलपुर, मुस्ताङमा बढी नोक्सान भएको छ । ३० वटा उपप्रमुख जितेको छ । यो पनि पहिले भन्दा कम हो । पहिले ३८ पालिकामा उपप्रमुख जितेको थियो ।

एमालेले हालसम्म ३३ पालिका प्रमुख जितेर दाेस्राे स्थानमा छ भने उपप्रमुखमा ३१ पालिका जितेको छ । एमालेलाई पनि प्रमुखमा एउटा पद नोक्सान भएको छ भने उपप्रमुखमा ५ पद नोक्सान भएको छ । माओवादीले ११ पालिका प्रमुख र १९ उपप्रमुख जितेको छ । यसअघि ५ प्रमुख र ७ उपप्रमुख जितेको माओवादीलाई अहिले ६ वटा प्रमुख र ११ उपप्रमुख नाफा भएको छ । राष्ट्रिय जनमोर्चाले पहिले भन्दा १ सीट बढाएको छ ।

पहिले ३ सीट जितेको राजमोले अहिले ४ सीट जितेको छ । पहिले २ सीट जितेको राप्रपाले भने यसपालि गण्डकीमा खाता समेत खोल्न सकेन । कांग्रेसको पहिलो अर्थात ६५ सीट र एमाले दाेस्राे अर्थात ६४ सीटमा चुनाव जितेको छ । माओवादीले ३० सीट र जनमोर्चाले ४ तथा स्वतन्त्र उम्मेद्वारले १ सीट जितको छन् । हालसम्म १ सय ६४ सीटको नतिजा आइसकेको छ भने ६ सीटको नतिजा बाँकी छ ।

अधिकांश पालिकामा कांग्रेस र एमालेको प्रमुख वा उपप्रमुख छन् । कांग्रेसले प्रमुख जितेका ठाउँमा एमालेले उपप्रमुख र एमालेले प्रमुख जितेका ठाउँमा कांग्रेसले प्रमुख जितेका पालिका १४ वटा छन् । त्यसमा कांग्रेसले प्रमुख जितेर एमालेले उपप्रमुख जितेका ७ वटा र एमालेले प्रमुख तथा कांग्रेसले उपप्रमुख जितेका पनि ७ वटा पालिका छन् । कांग्रेस र माओवादीको प्रमुख–उपप्रमुख सहकार्य १३ वटा पालिकामा देखिएको छ ।

९ पालिकामा कांग्रेस प्रमुख र माओवादी उपप्रमुख छन् । बाँकी ४ पालिकामा माओवादी प्रमुख र कांग्रेस उपप्रमुख जितेका छन् । बागलुङका ४ पालिकामा भने कांग्रेस र जनमोर्चाको सहकार्य छ । दुईवटामा जनमोर्चा प्रमुख र कांग्रेस उपप्रमुख जितेका छन् भने बाँकी २ वटामा कांग्रेस प्रमुख र जनमोर्चाले उपप्रमुख जितेका छन् ।

हालसम्म ८२ पालिकाको नतिजा सार्वजनिक भैसकेको छ । पोखरा महानगरपालिकामा मतदाता धेरै भएका कारण अझै केही दिन लाग्नेछ भने ब्यासको एउटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएपछि बुधबार रातीबाट मात्रै गणना थालिएको छ । नवलपुरको कावासोती नगरपालिकामा गणना अन्तिम चरणमा पुगेको छ । ३ पालिकामा हालसम्मको गणना हेर्दा कावासोती एमालेले दुवै सीट जित्ने देखिएको छ भने ब्यासमा दुवै सीट कांग्रेस तथा पोखरामा मेयर एकीकृत समाजवादी र उपमेयरमा टक्कर हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =