गृहनगरमै बाबुरामको हार, जिल्लाभरि ३ वडाध्यक्ष मात्रै

पोखरा । जसरी पनि जित्नैपर्ने रणनीतिमा रहेका जसपाका केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पालुङटार प्रतिष्ठाको विषय थियो । अघिल्लो चुनावमा झिनो मतान्तरले हारेको जसपा अहिले मेयर ल्याउने दाउमा थियो । त्यसका लागि सुरुमा कांग्रेससँग सहकार्य गरेको फण्डा मच्चाए ।

उनले पालिका पिच्छे फरक समीकरण बनाएपछि कांग्रेसले पालुङटारको सम्झौता तोडिदियो । जसपा गोरखा र गण्डकी गाउँपालिकामा माओवादीसँग मिल्यो । पुरानो सम्झौता अनुसार गोरखामा जसपाले कांग्रेसलाई सघाउने र पालुङटारमा जसपालाई कांग्रेसले सघाउने थियो । जसपाले नै गोरखाको सम्झौता विपरीत अर्को सम्झौता गरेपछि रुष्ट बनेको कांग्रेसले जसपालाई सहयोग नगर्ने र सबै सहमति तोड्ने निर्णय गर्‍यो ।

बाबुराम बाध्य भएर पालुङटारमा गठबन्धन बाहेकको दल एमालेसँग सम्झौता गर्न पुगे । उनलाई लागेको थियो, झिनो मत एमालेबाट आउँछ र त्यसले जसपा जित्छ । तर नतिजा त्यस्तो भएन । साढे ४ सय भन्दा बढी मतान्तरले जसपाले मेयर गुमायो । उपमेयरमा जसपाको उम्मेदवार नभएका कारण एमालेलाई सघाउने निर्णय थियो । न एमालेले जसपाको जति भोट पायो, न जसपाले मेयरमा चुनाव जित्यो ।

रोचक कुरा त के छ भने, एमालेसँग मिलेको भनिएपनि एमालेबाट मेयरका उम्मेदवार हरि भट्टले ९ सय ४१ मत पाए । जुन मत जसपामा गएको भए सजिलै चुनाव जित्ने थिए ।

जसपाका उम्मेदवार प्रेम गुरुङले ५ हजार ७ सय १७ मत पाउँदा विजयी भएको माओवादी उम्मेदवार विवश चिन्तनले ६ हजार ७२ मत पाए । उपमेयरमा पनि माओवादीकै वन्दना पाण्डे विजयी भइन् । उनले ५ हजार ५ सय ७९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छिन् ।

गठबन्धन दल एमालेकी उपमेयर उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ अर्थात् जसपा मेयरको भन्दा १ हजार ४ सय ३६ मत कम ल्याइन् । यो बाट प्रस्ट हुन्छ, त्यहाँ बलियो गठबन्धन थिएन ।

त्यसो त, जसपाले गठबन्धन गरेका अरू पालिकामा पनि विजयी भएका छैनन् । गण्डकीमा माओवादी र जसपाको गठबन्धन थियो । माओवादीले १ हजार ६ सय ७१ मतान्तरले कांग्रेसलाई हराएर अध्यक्षमा चुनाव जित्दा उपाध्यक्षमा जसपा ७ सय ७७ मतान्तरले कांग्रेससँगै पराजित भएको छ । गोरखा नगरपालिकामा पनि जसपा शून्य भयो ।

मेयरमा १ हजार ८ सय ५६ मतान्तरले कांग्रेस हराएर माओवादी विजयी हुँदा गठबन्धन दल जसपाले उपमेयरमा कांग्रेससँग ७ सय ३५ मतान्तरले चुनाव हार्‍यो । जिल्लाभरमा जसपाले पालुङटारका ३ वडाको प्यानल जित निकालेको छ । जिल्लाका ४ सय ९२ पदमध्ये जसपाले १५ पदमा चुनाव जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *