सीके राउत नेतृत्वकाे जनमत पार्टीले जित्याे २ पालिका

काठमाडाैँ । डा. सीके राउत नेतृत्वकाे जनमत पार्टीले २ पालिकामा जित निकालेकाे छ । जनमत पार्टीले सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका र बलान विहुल गाउँपालिकामा जित निकालेकाे हाे ।
कंकालिनीमा जनमत पार्टीबाट वीरेन्द्र माझी निर्वाचित भएका छन् । उनले निवर्तमान मेयरसमेत रहेका जसपाका तर्फबाट मेयर पदका उम्मेदवार शैलेश साहलाई १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४ सय ७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २ सय ४६ मत मात्रै प्राप्त गरे ।
यस्तै बलान विहुल गाउँपालिकामा जनमत पार्टीकै खेमचन्द्र यादवले जित हात पारेका छन् । उनले २ हजार ९ सय ९४ मत पाए भने दोस्रो भएका कांग्रेस उम्मेदवार नवीनकुमार झाले २ हजार २ सय ४७ मत पाए ।
गाउँपालिका उपाध्यक्षमा पनि जनमत पार्टीकै रेणु यादव विजयी भएकी छन् । यादवले २ हजार ६ सय ९० मत पाएकी छन् भने कांग्रेसकी आशदेवी मण्डल २ हजार ३ सय ४ मत ल्याएर पराजित भएकी छन् ।








