पोखराको मत गणनास्थलमा एमाले नेताद्वारा पत्रकारमाथि दुर्व्यवहार

पोखरा । पोखरा महानगरपालिकाको मत गणनास्थलमा रिपोर्टिङमा गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुर्व्यवहार गरेका छन् ।

मत गणनामा विवादमा भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा नेता दामोदर वैरागीमाथि अपशब्द प्रयोग गर्दै धम्की दिएका हुन् ।

नेता वैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् । ‘विवाद भएर नाराबाजी भइरहेको ठाउँमा हामी पुगेका थियौँ । त्यतिबेला नेकपा एमालेले मतगणना रोक्न नाराबाजी गरिरहेको थियो,’ एपीवान टिभीका तिमिल्सिनाले भने, ‘त्यहीबेला कुटपिट गर्न उनले कार्यकर्तालाई आदेश दिएका हुन् ।’

अनलाइनखबरकर्मी अमृत सुवेदीले पनि आफूलाई मतगणनास्थलबाट बाहिर निकालिदिने धम्की दिएको बताए ।

रिपोर्टिङमा रहेका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कुनै पनि बहानामा पत्रकारमाथि दुर्व्यवहार सह्य नहुने बताइन् ।

‘यो वा त्यो बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्न पाइँदैन । अझ त्यसमाथि रिपोर्टिङमा खटिएको पत्रकारमाथि दुर्व्यवहार भएको छ,’ अध्यक्ष भण्डारीले भनिन्, ‘लोकतन्त्रमा पनि प्रेसमाथिको यो प्रहार सह्य हुँदैन । यो प्रवृत्तिको हामी खेद प्रकट गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *