बेँसीसहरमा एमाले विजयी

लमजुङ । सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा नेकपा(एमाले)का उम्मेदावर विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनामा नगर प्रमुखमा पुनः एमालेकै गुमानसिंह अर्याल र उपप्रमुखमा एमालेकी पद्मा गुरुङ विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई दुई हजार आठ मतले पराजित गर्दै नगर प्रमुखमा पुनः अर्यालले जिटेका हुन् । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका अर्याल पुनः पाँच वर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन्। विजयी अर्यालले नौ हजार ४७९ मत प्राप्त गरे, भने, उनाका प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गरे ।

त्यस्तै, प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १४६ मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत र जसपाका बलबहादुर रानाले ४३ मत प्राप्त गरेका छन् । विजयी अर्यालले विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका तत्कालीन सभापति भेषबहादुर पौडेललाई २९७ मतले हराउँदै निर्वाचित भएका थिए ।

त्यस्तै, उपप्रमुखमा निर्वाचित गुरुङले चार हजार १५ मतअन्तरले बढी ल्याउँदै भारी मतले विजयी भएका छन् । उनले आठ हजार ७१४ मत प्राप्त गरे, भने उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी केन्द्र हरिजङ्ग तामाङले चार हजार ६९९ मत प्राप्त गरे ।

बेँसीसहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं ७ मा ऋषि बस्नेत, वडा नं ८ मा पवित्रा थापा राना, वडा नं १० मा गंगाबहादुर थापा र वडा नं ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापा वडाध्यक्ष बन्न सफल भए । सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं ९ मा खुसीजङ्ग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट वडा नं ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् । बेँसीसहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकोमा १८ हजार १८५ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *