प्रारम्भिक नतिजा : गठबन्धनमा खटपट !

काठमाडौँ । स्थानीय तहको प्रारम्भिक नतिजालाई लिएर पाँच दलीय सत्तागठबन्धनका मुख्य दुई घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी आन्तरिक समीक्षामा जुटेका छन् । सबैभन्दा ठूलो दल हुने अनुमानले नेपाली कांग्रेसका नेताहरु गठबन्धनले घाटा भएको निष्कर्षमा पुगेका छैनन् र सार्वजनिक रुपमा बोलेका पनि छैनन् ।

तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेका कारण कम पालिका प्रमुखमा सिमिति हुनु परेको भनेर सार्वजनिक रुपमै आलोचनामा उत्रन थालेका छन् । यसले गठबन्धनमा प्रारम्भिक नतिजाले गडबड सुरु भएको संकेत गरेको छ ।

हालसम्म सार्वजनिक नतिजामा आउँदा सबैभन्दा बढी पालिका प्रमुख नेपाली कांग्रेसले जितेको छ । दोस्रोमा एमालेले र तेस्रोमा नेकपा माओवादी केन्द्र छ । नेकपा एकीकृत समाजवादीले ३ पालिका प्रमुख जितेर चौथोमा छ । उपप्रमुखमा पनि प्रमुखमा जस्तै दलीय स्थिति छ ।

प्रारम्भिक नतिजालाई लिएर सत्तागठबन्धनभित्र गडबडको संकेत देखा परेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार सार्वजनिक रुपमै गठबन्धनका घटकबाट राम्रो सहकार्य नपाएको टिप्पणी गरे ।

‘अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ,’ मंगलबार पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’

नेपालले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने समेत बताएका छन् । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौँ,’ उनको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौँ । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौँ ।’

माओवादीको देस्रो बन्ने सपना चकनाचुर

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार यो स्थानीय तहको चुनावमा दोस्रो ठूलो दल बन्ने पार्टीको लक्ष्य थियो । एक्लै लड्दा पनि २ सय बढी पालिका प्रमुख जित्ने आकलन हुँदा हुँदै त्यो भन्दा बढी पालिका जित्ने र नेकपा एमालेलाई साइजमा ल्याउनका लागि स्थानीय तहको चुनावमा गठबन्धनका लागि माओवादी निरन्तर लडेको थियो । तर, चुनावी परिणामले माओवादी केन्द्र २०७४ सालकै स्थितिमा रहने देखा परेको छ ।

०७४ को चुनावमा एमालेले २९४ तहमा प्रमुख जितेको थियो भने उपप्रमुख ३३१ स्थानमा जितेको थियो । नेपाली कांग्रेसले २६६ स्थानमा प्रमुख र २२३ स्थानमा उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले १०६ स्थानमा प्रमुख जितेको थियो भने १११ स्थानमा उपप्रमुख जितेको थियो ।

तत्कालिन संघीय समाजवादीले ३४ प्रमुख र ३२ उपप्रमुख जितेको थियो भने राजपाले २५ प्रमुख र ३० उपप्रमुख पद जितेका थिए । अहिले यी दुवै दल जसपा र लोसपामा छन् । हाल कांग्रेसमा समाहित भइसकेको लोकतान्त्रिक फोरमले ९ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख जितेको थियो । स्वतन्त्र उम्मेदवारले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख जितेका थिए ।

राप्रपाले ५ र राष्ट्रिय जनमोर्चाले ३ स्थानमा प्रमुख जितेका थिए भने तत्कालिन नयाँ शक्ति पार्टी र नेपाली जनता दलले दुई÷दुई स्थान जितेका थिए । नेमकिपाले भक्तपुर नगरपालिकामा एक प्रमुख र एक उपप्रमुख जितेको थियो । यो समग्र नतिजामा दोस्रो हुने दाउ पुरा नहुने देखेपछि माओवादी नेताहरुले सार्वजनिक रुपमै गठबन्धनबारे मुख खोल्न थालेका हुन् ।

सोमबार मात्रै माओवादी नेता वर्षमान पुनले माओवादी केन्द्रलाई नहेप्न सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई सुझाव दिए । देशभर गठबन्धन गरौँ भन्दा अनेकन तिकडम गरेर थोरै पालिकामा मात्रै गठबन्धन गर्ने कांग्रेसले नीति लिएको उनको भनाइ छ । तालमेल भएको ठाउँमा पनि माओवादीले इमानदारपूर्वक साझा उम्मेदवारलाई भोट हाल्ने र कांग्रेसले माओवादी केन्द्रको भागमा परेको उम्मेदवारलाई भोट नहाल्ने प्रवृति देखा परेको उनको विश्लेषण छ ।

अर्कोतर्फ एमालेसँग तालमेल गर्न नपाउने केन्द्रीय नीतिविपरीत कांग्रेसले एमालेसँग मिलेर कार्णलीका कतिपय स्थानीय तहमा माओवादी केन्द्रमा उम्मेदवारलाई हराउने खेल खेलेको भन्दै नेता पुनले माओवादी पार्टीलाई नहेप्न चुनौती दिएका हुुन् । स्थानीय तहको चुनावको प्रारम्भिक नतिजाले आगामी दिनका सहकार्यका लागि थप गम्भीर भएर सोच्नुपर्ने स्थिति पैदा भएको उनको भनाइ छ ।

‘प्रतिस्पर्धी दलले माओवादीलाई अब नहेपे हुन्छ’, नेता पुनले भनेका छन्, ‘पटक–पटक पुष्टि भइसकेको छ कि माओवादी विचार भएको पार्टी हो । कार्यकर्ता भएको पार्टी, संगठन भएको पार्टी हो । नेतृत्व भएको पार्टी हो । बलिदानबाट आएको पार्टी हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =