दैलेखको ठाटीकाँधमा एमालेको गढ भत्कियो, कांग्रेसका शाही विजयी

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा बलियो शक्ति केन्द्रका रूपमा स्थापित भएको नेकपा एमालेको गढ यो पटक भत्किएको छ । ०७४ मा एउटा वडाध्यक्ष मात्रै पाएको कांग्रेसले यो पटक बहुमतसहित पालिका अध्यक्ष जितेको छ ।

यहाँ नेपाली कांग्रेसका रक्षबहादुर शाहले २५ सय ७१ मत ल्याएर विजयी भएका छन् । उनले पूर्व मन्त्री एवं नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहकी श्रीमती लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरेका हुन् । लक्ष्मीदेवीले २२ सय ७९ मत पाएकी छन् । प्रदेश अध्यक्ष शाहले जिल्ला समन्वयन समितिकी उपाध्यक्ष समेत रहेकी आफ्नी श्रीमतीलाई पार्टीका नेता, कार्यकर्ताको भावना विपरीत अध्यक्षको उम्मेदवार बनाएका थिए । जसका कारण उनी पराजित हुन पुगेकी हुन् ।

यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । शाही पनि एमालेकै इमानदार छवि बनाएका नेता पर्छन् । तर उनकै वडामा ठाटीकाँध–६ मा काँग्रेसले जित्यो । यो पालिकामा एमालेभित्रै तीनवटा गुट भएकाले एमालेले पराजय भोगेको एमालेका एक नेताले बताए । ०७४ मा एमालेका अध्यक्ष बनेका धीरबहादुर शाहीले गाउँपालिकामा जनताको भावना विपरीत काम गरेको भन्दै शाहीबाट जनता रुष्ट बनेका थिए ।

अध्यक्ष शाहीले पाँच बर्से कार्यकाल पुरै विवाद र आफ्नै ढंगबाट चलाएको भन्दै पार्टीभित्रै चर्को आलोचना समेत भएको थियो । जसका कारण उनी शाहीसँग ०७४ मा चुनावमा पराजित बनेका रक्षबहादुर शाह यो पटक विजयी भए । यो पटक पनि नेकपा माओवादी तेस्रो स्थानमा छ । माओवादीका उमेश कुमार रावत (निर्मल)ले एक हजार ६१७ मत पाएका छन् ।

उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी भएका छन् । उनले २६ सय ९५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भद्रा कुमारी शाहीले २४ सय १६ मत ल्याएकी छन् । माओवादीकी विजु कुमारप् थापाले एक हजार ५ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा तह रहेको यो पालिकामा ०७४ मा पाँच वटा एमालेले जितेको थियो । तर यो पटक दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं. १, ३, ४, ६ मा जित्दा एमालेले वडा नं.–२ र ६ मा मात्र स्थान लियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *