सुर्खेतमा १७ वडाको नतिजा सार्वजनिक, कांग्रेसको अग्रता

सुर्खेत । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सिम्ता गाउँपालिका बाहेक सुर्खेतका ८ स्थानीय तहमा मतगणना जारी छ ।

मतगणना जारी हुँदै गर्दा नतिजा सार्वजनिक हुने क्रम समेत जारी छ । नौवटा स्थानीय तहमा ९९ वडा रहेको सुर्खेतममा ९० वडाको मतगणना जारी छ । फर्जी मत भेटिएको भन्दै सिम्तामा मत गणना रोकिएको छ । सिम्ताको भगवति माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र भेटिएपछि मतगणना रोकिएको हो । सो मतदान स्थलमा भोलि मतदान हुनेछ । जिल्लाभर १७ वडाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ८ वडामा जित हासिल गरेको छ ।

यस्तै, नेकपा (एमाले)ले ६ वडामा जित हासिल गर्दा माओवादीले तीन वडामा विजयी भएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले तीनवटा वडा जितेको छ । काग्रेसले २, १० र ११ वडामा जित हासिल गरेको हो । वडा नं २ मा कांग्रेसका यामबहादुर बिसीले सात सय २५ मत ल्याउँदै एमालेका टिकाकुमारी रानालाई पराजित गरे । रानाले पाँच सय ९४ मत प्राप्त गरिन् ।

यस्तै, वडा नं ११ मा कांग्रेसकै धनबहादुर माझीले माओवादीका प्रेम विकलाई हराएका छन् । माझीले विकलाई चार सय ५२ मत प्राप्त गरेर विजयी भए । यस्तै वडा नं १० मा हरिप्रसाद ढकाल ६ सय ६१ मतले विजयी हुँदा एमालेका सुरेशप्रसाद शर्माले तीन सय १७ मत प्राप्त गरी पराजित भए ।

यस्तै, पञ्चपुरीमा एमाललेले वडा नं १ मा जित हात पारेको छ । एमाललेका कर्णबहादुर थापाले चार सय ७९ मत प्राप्त गरी कांग्रेसका बुदे साउनलाई पराजित गरे । साउनले तीन सय ६३ मत पाएका थिए ।

यस्तै, बराहतालमा माओवादीले दुईवटा वडामा जित हात पारेको छ । वडा नं १ मा दुई सय ८७ मतका साथ बमबहादुर बडुवाल विजयी भए भने एमालेका यसबहादुर दर्लामी मगरले दुई सय २२ मत प्राप्त गरे । वडा नं ४ मा प्यानलसहित विजयी भएको माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका विर्ष बडुवालले नेपाली कांग्रेसका दिर्घबहादुर कठायतलाई पाँच सय चार मतले पराजित गरेका छन् । कठायतले तीनसय ८५ मत प्राप्त गरेका हुन् ।

यस्तै, एमाले र कांग्रेसले पनि बराहतालमा १-१ वडामा विजयी भएका छन् । वडा नं २ मा एमालेका भिमबहादुर सावदले ६ सय ५६ मत प्राप्त गरी विजयी हुँदा माओवादीका डिलबहादुर नेपालीले जम्मा चार सय ४५ मत पाएका छन् । वडा नं ३ मा काग्रेसका शेरबहादुर पुनमगरले दुई सय २२ मत प्राप्त गरी माओवादीका दत्तबहादुर बराल मगरलाई पराजित गरेका छन् । यसअघिका वडाध्यक्षसमेत रहेका बराल मगरले एक सय ७८ मत प्राप्त गरेका हुन् ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा कांग्रेस र एमालले समान १-१ वडामा जित हात पारेका छन् । कांग्रेसका दिनेश खत्री एक हजार चार सय ८५ मत प्राप्त गरी एमालेका गंगाराम सुनारलाई पराजित गरेर १ नं वडाध्यक्षमा विजयी भएका छन् । एक हजार चार सय ४४ मत प्राप्त गरेका सुनार यसअघि समेत वडाध्यक्ष रहेका हुन् ।

यस्तै, निर्वतमान वडाध्यक्ष पूर्णबहादुर ढकाललाई हराउँदै वीरेन्द्रनगर १६ मा डण्डप्रसाद विकले जित हात पारेका छन् । विकले ६ सय ८ मत प्राप्त गरेका छन् भने ढकालले पाँच सय ८३ मत प्राप्त गरेका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा एमालेले दुई वडा र कांग्रेसले एक वडामा जित हात पारेको छ । गुर्भाकोट नगरपालिका १ मा एमालेका रामबहादुर शाहीले ६ सय ८३ मत प्राप्त गरी कांग्रेसका ओविलाल थापालाई पराजित गरे । थापाले पाँच सय ७५ मत प्राप्त गरेका हुन् ।

यस्तै वडा नं १४ मा पनि एमालेका चन्द्रबहादुर घर्तिले सात सय ३६ मत प्राप्त गरी कांग्रेसका भुपालसिंह गुरुङ्गलाई पराजित गरे । वडा नं १३ जितेको कांग्रेसले एमालेका इन्द्रदेव गिरीलाई एकसय ९५ मतले पराजित गर्दा कांग्रेसकी मधु गरुङ्ग एक हजार दुई सय ८६ मत प्राप्त गरी विजयी भइन् ।

यस्तै, भेरीगंगामा कांग्रेसले दुई वडा जितेको छ भने माओवादीले एक वटा वडामा जित हासिल गरेको छ । १ र ३ नं वडामा जित हासिल गरेको कांग्रेसका दिनेश पुलामी मगरले वडा नं १ मा तीन सय ३३ मत प्राप्त गरी विजयी हुँदा माओवादीकी सम्झना कार्कीले तीनसय २६ मत प्राप्त गरी पराजित भइन् । यस्तै वडा नं ३ मा कांग्रेसका जीतबहादुर सुनारले ६ सय ८ मत प्राप्त गरी विजयी हुँदा एमालेका विशाल पुनले पाँच सय २९ मत प्राप्त गरी पराजित भए ।

यस्तै, वडा नम्बर २ मा माओवादीका चिरन्जीवि बुढा पाँच सय सात मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका करसिंह रावतले चार सय ४९ मत प्राप्त गरेका छन्। चिङ्गाडमा एमाले र कांग्रेसले समान १-१ वडामा जित हासिल गरेका छन् । वडा नं १ मा एमालेका टेकबहादुर वलीले ६ सय ८२ मतले विजयी हुँदा कांग्रेसका वीरबहादुर वली चार सय २४ मत प्राप्त गरी पराजित भए ।

यस्तै वडा नं २ मा कांग्रेसका प्रेमबहादुर खड्का ६ सय ९५ मत प्राप्त गरी विजयी भए । ६ सय ५६ मत प्राप्त गरेका डिलबहादुर खत्री खड्कासँग पराजित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *