म्याग्दीमा मतगणना सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरु सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ ।जिल्लाको एउटैमात्र नगरपालिका बेनी नगरपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका–१ रत्नेचौरको मतपेटिकाको मत खन्याइ गणनाको सुरुआत गरेका हुन् ।

यसैगरी जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकोे छ । कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुुसार भौगोलिक विकटताका कारण धौलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आइनपुगेकाले त्यहाँको मतगणना सुरु हुन सकेको छैन ।कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा जिल्लाभर ६६ प्रतिशत मत खसेको थियो । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा कूल मतदातामध्ये ५६ हजार ५४३ मत खसेकामा महिला ३० हजार ३२, पुरुष २६ हजार ५१० र अन्य एकजना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

जिल्लामा जम्मा ७४ वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेकामा स्थानीय तह निर्वाचनका लागि कूल ८५ हजार ३७५ मतदाता थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कूल २३७ पदको लागि ७१८ जना उम्मेदवार चुनावमा उठेका छन् । जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिकरुपमा विकट क्षेत्र धौलागिरि गाउँपालिका–१ गुर्जाको मतपेटिका आज बिहान ५ बजे गाउँबाट ल्याइने छ । जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको उनले बताए । “अनुमान गरेभन्दा पाँच–सात प्रतिशत बढी मत खसेको छ”, प्रमुख घिमिरेले भने ।
यसैबीच बेनी नगरपालिकाको मतपेटिका सङ्कलन गरेपछि आज बिहान ८ बजेदेखि मात्रै मतगणना हुने जनाइएको छ । त्यस्तै जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *