पोखराको पन्ध्रौँ मेयर ब्यालेटमा, को बन्ला नयाँ मेयर ?

पोखरा । पोखरामा केहि दिनपछि पन्ध्रौं मेयर चुनिँदैछन् । एमालेका कृष्णबहादुर थापा र गठबन्धनबाट धनराज आचार्यबीच कडा प्रतिस्पर्धा हुने आकलन छ ।

नयाँ मेयर सहित जनप्रतिनिधि चयनका लागि मतदान सकिएको छ । अब नयाँ मेयरको मत ब्यालेटमा परिसकेको छ । केही बेरमै मतपेटिका संकलन भैसक्ने बताइएको छ ।

को-को भए अहिलेसम्म मेयर ?
२०१६ सालमा नगर पन्चायतको रूपमा गठन भएको पोखरा हाल देशकै ठूलो महानगरको रूपमा स्थापित भएको छ । पहिलो मेयर बनेका थिए शिवबहादुर थापा । उनले २०१६ देखि ०१८ सम्म कार्यभार सम्हाले । २०१९ सालमा नगेन्द्रबहादुर रायमाझी मेयर बने । उनले ५ वर्ष काम गरे ।

त्यसपछि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । चौंथो मेयरको रूपमा काम गरेका रुद्रबहादुर कार्कीको केही महिनाअघि मात्रै निधन भएको छ । उनी २०२८ देखि २०३१ सम्म मेयर बनेका थिए ।

पोखराको पहिलो गुरुयोजना उनकै कार्यकालमा बनेको थियो । २०३१ देखि ०३२ सम्मको अवधिमा दीलिपकुमार पालिखे मेयर बनेका थिए भने सबैभन्दा कम अवधिका लागि रमेशबहादुर भट्टराई जम्मा ७ महिना मेयर बनेका थिए ।

गणेश शेरचन २०३२ देखि २०३८ सम्म, श्रीप्रसाद गुरुङ २०३८ देखि ०३९ सम्मको मेयर भएर काम गरेका थिए । २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन मेयर भए । सूर्यबहादुर केसी २०४१ देखि २०४६ को मेयर बने ।

उनी पछि नेपाली कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद भएका थिए । २०४९ सालमा पहिलो पटक स्थानीय निकायको चुनाव भयो । जहाँ राजनीतिक दलहरू प्रतिस्पर्धामा थिए ।

कांग्रेसका भोला थापा ५ वर्षका लागि पोखराको दशौं मेयर निर्वाचित भए । उनकै कार्यकालमा पोखरा नगरपालिकाबाट उपमहानगरपालिका बनेको थियो । २०५४ सालमा एमालेका कृष्णबहादुर थापा निर्वाचित भए ।

उनको कार्यकाल सकिएपछि देशमा स्थानीय निकायको निर्वाचन भएन । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे ।

२०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने । नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४ औँ मेयर भएर कार्यकाल व्यतित गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *