सुदूरपश्चिममा ७० प्रतिशतभन्दा बढी मत खस्ने आकलन

धनगढी । वैशाख ३० शुक्रबार (भोलि) हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा करिब ७० प्रतिशतभन्दा बढी मत खस्ने आकलन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशमा करिब ७० प्रतिशतभन्दा बढी नै जनताले निर्वानमा मतदान गर्ने आकलन गरिएको बताए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १६ लाख २५ हजार १५० मतदाता छन् । यसमध्ये प्रदेशमा ७० प्रतिशत भन्दा बढी अर्थात् ११ लाख ३७ हजार भन्दा बढी मत खस्ने प्रदेश निर्वाचन कार्यालयको अनुमान छ । सबैभन्दा बढी मतदाता रहेको कैलालीमा मात्रै पनि ७० प्रतिशत भन्दा बढी मत खस्ने आकलन गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले बताए ।

उनका अनुसार कैलालीमा मतदाता संख्या पाँच लाख २५ हजार १२५ छ । यहाँ पनि ७० प्रतिशत भन्दा बढी मत खस्ने आँकलन अनुसार तीन लाख ६७ हजार ५८७ चज्लन बढी मत खस्नेछ ।

कैलालीमा यसअघि २०७४ को निर्वाचनताका चार लाख ६० हजार मतदाताम रहेका थिए । जिल्लाभरि महिला मतदाता संख्या दुई लाख ७९ हजार १०, पुरुष मतदाता संख्या दुई लाख ५६ हजार १०४ र अन्य मतदाता संख्या ११ रहेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन् । यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् ।

कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।

यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *