मोरङको कानेपोखरीमा कांग्रेस–एमाले कार्यकर्ताबिच झडप

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा गएराति दुई दलका कार्यकर्ता बिच झडप भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा परी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष कानेपोखरी ६ का नवीन पौडेल घाइते भएका छन् । कानेपोखरी– २ दलेली बजारनजिकै दुई पक्षबिच झडप भएको प्रहरीले जनाएको छ । मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिकको विपन्न बस्ती पुगेका दुवै समूहका बिच झडप भएको प्रहरीले जनाएको छ।
दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । प्रहरीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
एसपी कोइरालाले घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए । दुवै समूह आक्रमणमा नै उत्रिएकोले घटनामा ठुलै भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्नहरू फरार रहेकोले पहिचानको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
एसपी कोइरालाका अनुसार रातिको समयमा हुने गतिविधिलाई निगरानी बढाइएको छ ।









