नार्पाभूमिमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । तिब्बतको सिमाना जोडिएको नार्पाभूमि गाउँपालिकामा पैदलयात्रामार्फत् निर्वाचन सामग्री पुगेको छ।

सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदलयात्राबाट निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन्। अति दुर्गम क्षेत्रको रूपमा परिचित नार्पाभूमिमा निर्वाचनका सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शर्माले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान जिल्ला सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार साँझ मात्रै मतदान केन्द्रमा पुगेका हुन्। उनीहरूले मतदान केन्द्रमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्नेलगायतका गतिविधि गरी मतदानको तयारीमा जुटेका छन्। जिल्लाका चारवटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभूमिको पाँच मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्। स्थानीय तहको निर्वाचनका लागि मनाङमा २०० बढी कर्मचारी र ७०० बढी सुरक्षाकर्मी खटाइएको छ। निर्वाचनका लागि मनाङमा २८ मतदान केन्द्र कायम भएको छ। जिल्लामा नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे र नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र कायम भएको छ।

जिल्लामा छ हजार ४९६ मतदाता छन्। तीमध्ये महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *