कास्कीका सबै मतदान केन्द्रमा काम सुरु

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ।

सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम सुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा आज निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए।

कास्कीमा पोखरा महानगरपालिकासहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ्रे र रूपा रहेका छन्। जिल्लामा सुरक्षाकर्मीबाहेक एक हजार ६८० कर्मचारी र एक हजार आठ स्वयंसेवक परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय पोखरा प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए।

कास्कीमा १५० मतदानस्थल र ३३६ मतदान केन्द्र रहेको जानकारी दिँदै प्रमुख पराजुलीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै किसिमको तयारी गरिएको बताए। निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौनअवधि सुरु भएकाले आज दलका प्रचारप्रसार कार्यक्रम नहुँदा सहर र गाउँका बस्ती सुनसानजस्तै बनेका छन्। मौनअवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउनका लागि अनुगमनलाई प्रभावकारी बनाइएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।

निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन थालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *