भारतीय बाटो हुँदै गाउँ पुगे मतदाता

काठमाडौँ । वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिँडेका व्याँस गाउँपालिका–१ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २७ गते गाउँ पुगेका छन्।

“हामी आफ्नै गाउँपालिकाको वडा कार्यालय पुग्न भारतको अनुमति लिएर जानुपर्छ,” स्थानीय दानसिंह तिङ्करीले भने, “चुनाव हुने दुई बस्तीका गाउँलेहरूले पनि मतदानका लागि भारतकै अनुमति लिएर पुगेका छन्।” तिङ्कर र छाङ्गरुवासी ६ महिना मात्र गाउँमा बस्छन्। उच्च हिमपात र जाडो छल्नका निम्ति उनीहरू कार्तिकको अन्त्यतिर गाईवस्तुसहित बेँसी झर्छन्। अनि जेठ पहिलो साता उनीहरू पशुचौपायासहित पुनः गाउँमा फर्किएका छन्।

हाल ती गाउँमा आलु, कोदो र फापरलगायत बाली लगाउने मौसम हो। चुनावका कारण नियमित बस्नेभन्दा बढी मानिस गाउँतर्फ उक्लिएका छन्।

सरकारले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री गत शनिबार हेलिकप्टरमार्फत् त्यसतर्फ पठाएको थियो। तर सामान्य मानिसको ओहोरदोहोर भने निकै कष्टकर रहेको उनी बताउँछन्। स्थानीयवासी नरेन्द्रसिंह बोहराले भने, “सानो गाउँ भएको कारण एक दिनमा दुवै गाउँ घुम्न सकिन्छ।” छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ र तिङ्करको मोती महिला सङ्घ आधारभूत विद्यालयको केन्द्रमा २३१ मतदाता छन् ।

पूर्ववर्ती सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको थियो। नक्सामा समेटिएको भूगोलभित्र नावी, गुञ्जी र कुटी गाउँ पर्छ। राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा ५०० को हाराहारीमा जनसङ्ख्या रहेको बताइएको छ। तर, यस क्षेत्रका नागरिक नेपालको मतदाता नामावलीमा नसमेटिएका कारण यो पटक निर्वाचनमा सहभागी हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिए। “हामीले छाङ्गरु र तिङ्करका लागि मतदान अधिकृतसहितको कर्मचारी हेलिकप्टरमार्फत् पठाइसकेका छौँ,” प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने।

भारतसँग सीमा जोडिएको छाङ्गरु र चीनको सीमा नजिकको तिङ्कर गाउँमा यो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिएका छन्। भौगोलिक रूपमा विकट रहेको यो ठाउँमा योपटक म्यादी खटाइएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *