पानी परे मतपेटिका सुरक्षित छैन, नाजवाफ कर्मचारी

पोखरा । मौसम विज्ञान विभागले चुनावको दिन पानी पर्न सक्ने बताएपछि अहिले गण्डकी प्रदेशका मतदान अधिकृतहरूलाई वैकल्पिक व्यवस्था गर्नमै चुनौती थपिएको छ । सामुदायिक भवन समेत नभएको गोरखाको चुमनुब्रीमा पानी पर्‍यो भने मतदान गर्ने ठाउँ निकै समस्या हुनेछ ।

निर्वाचन अधिकृत नानीबाबु ढकालले पानीसँगै त्यस क्षेत्रमा हावाहुरी समेत आउने भएकोले सुरक्षित ठाउँको खोजी गरिरहेको तर नभेटेको बताए । ‘मतदान अधिकृतहरूलाई सुरक्षित ठाउँ खोज्नुस् भनेका छौँ । पानी पर्ने आधिकारिक सूचना पाएका छैनौँ तर सचेत छौँ,’ उनले भने, ‘न सामुदायिक भवन छ । व्यक्तिको घरमा मतदान गर्ने कुरा भएन । साह्रै समस्या छ ।’ निर्वाचन आयोगले वैकल्पिक सुविधा दिएको छैन ।

हिमाली जिल्लामा मात्रै होइन कास्की जस्तो सुगम ठाउँमा समेत यसको चुनौती कायम छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिकृत निल पनेरुका अनुसार मतपेटिका राख्ने ठाउँ बनाएपनि त्यहाँसम्म मतदाता सुरक्षित पुग्न र मतपत्र नभिज्ने ग्यारेण्टी गर्न सकिएको छैन । ‘एउटा बुथ बनाउन ५ हजार दिएको छ । हामीले त्यसैबाट सबै खर्च चलाउनुपर्छ,’ उनले भने, ‘पानी नै पर्‍याे भने पनि सुरक्षित राख्न गाह्रो हुने भयो । ब्यालेटसम्म जोगाउन सकिएला, मतदाता नभिज्ने अवस्था हामीले बनाउन सकेनौँ ।’

आयोगले धेरै बजेट नदिएका कारण आफूहरू जवाफ दिने अवस्थामा नरहेको पनेरुको भनाई छ । ‘हामीसँग जवाफ छैन । मतपेटिका जोगाउन सकेजति प्रयास गर्छौँ । अरू कसरी जोगाउन सकिएला ?,’ उनले अघि भने । निर्वाचन आयोगले भने त्रिपालको व्यवस्था गरेको जनाएको छ । तर आयोगको त्रिपाल प्रदेशसम्म आइसकेको छैन ।

‘मतदान केन्द्रहरूमा भवन छ । बाहिर मतदान गर्ने अवस्था नभए भित्र मिलाउनुहोला,’ प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘केही उपाय त खोज्नै पर्‍याे । तर के गर्ने भन्ने टुङ्गो लागेको छैन ।’ हिमाली जिल्लामा मतपेटिका सङ्कलन गर्नै ३ दिनसम्म लाग्छ । पानी पर्दा हेलिकोप्टर समेत जान सक्दैन भने हिँडेर सङ्कलन गर्ने अवस्था रहँदैन । त्यसैले मतपरिणाम आउन धेरै समय लाग्न सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *