कास्कीमा दोहोरिने दाउमा ४ प्रमुख/उपप्रमुख

पोखरा । पाँचवटा स्थानीय तह रहेको कास्कीमा अघिल्लो चुनावबाट विजयी भएका ४ जना प्रमुख र उपप्रमुख पुनः दोहोरिने दाउमा छन् । दुईजना गाउँपालिका अध्यक्ष, एकजना उपाध्यक्ष र एकजना महानगरकी उपमेयर छन् । केही पालिकामा वडाध्यक्ष समेत दोहोरिएर उम्मेदवारी दिएका छन् ।

रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैजनाले पुनः उम्मेदवारी दिएका छन् । एमालेबाट टिकट पाएका उनीहरू जसरी चुनाव जित्ने दाउमा छन् । ०७४ को चुनावमा अध्यक्षका उम्मेदवार नवराज ओझाले ९ सय ७ मतान्तरले कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए । ओझाले ४ हजार २ सय १२ र खनालले ३ हजार ३ सय ५ मत पाएका थिए ।

उपाध्यक्षमा लालसुब्बा गुरुङले कांग्रेसकी गीमाया गुरुङलाई ५ सय ३९ मतान्तरले हराएकी थिइन् । लालसुब्बाले ३ हजार ९ सय ९५ मत पाइन भने गीमायाले ३ हजार ४ सय ५६ मत पाएकी थिइन् ।

कास्कीकै अन्नपूर्ण गाउँपालिकामा युवराज कुँवरले पनि उम्मेदवारी दोहोर्‍याएका छन् । कास्कीमा कांग्रेसबाट निर्वाचित कुँवर मात्रै थिए । यहाँको उपाध्यक्ष समेत एमालेले जितेको हो । कुँवरले ४ हजार ६ सय ७२ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका विष्णु केसीले ४ हजार ४ सय ८ मत पाएका थिए ।

पोखराको उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ दोहोर्‍याउने दाउमा छिन् । यसअघि कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार १ सय १० मतान्तरले हराएकी उनी पार्टीको दबाबमा उम्मेदवार बनेकी हुन् ।

यसअघि उनले ५६ हजार ४ सय ४८ मत पाइन भने कांग्रेसकी सरस्वतीले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । मेयरमा भने एमालेका मानबहादुर जिसीले ६० हजार १ सय १८ मत पाएका थिए भने कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका थिए ।

मादी र माछापुच्छ्रे गाउँपालिकाका चारैजना नयाँ अनुहार छन् । दुवैमा यसअघि एमाले उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *