रामधुनीका उम्मेदवार भन्छन्, विकासका लागि मिलेर काम गर्छौं

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका मेयर, उपमेयरका उम्मेदवारहरूले नगरको विकासकालागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न दलका तर्फबाट मेयर, उपमेयरका उम्मेदवारहरूले जसले जिते पनि नगरको विकासकालागि एक भएर काम गर्ने बताएका हुन । संवाद समूह सुनसरीको आयोजनामा भएको संवादमा आफूले जिते अरू दलको सहयोग लिने, अन्य दलले जिते सो दललाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

थारू समुदायको बाहुल्य क्षेत्र भएपनि ग्रामथान तथा सांस्कृतिक भूमि अतिक्रमणमा परेको भन्दै उनीहरूले निर्वाचन पश्चात् त्यसको संरक्षणमा काम गर्ने बताए । उम्मेदवारहरूले प्रत्येक टोलमा हुने ग्रामथानहरू हराउन थालेकोमा चिन्ता व्यक्त गर्दै संरक्षणमा एकजुट हुने बताएका छन् । जुन पार्टी र जो उम्मेदवारले जिते पनि ग्रामथान जोगाउन कानुन नै बनाएर संरक्षण गर्नेमा उनीहरूको जोड छ ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार सुदिप अधिकारीले रामधुनीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, ग्रामथानहरूको संरक्षण गर्दै संग्राहालय निर्माण गर्ने, ताल तलैयाहरूको संरक्षण र संवर्द्धन गर्ने बताए । उनले रामधुनीमा २५ बेडको अस्पताल निर्माण, ३० मिनेट भित्र सेवा दिने व्यवस्था मिलाउने उल्लेख गरे । कांग्रेसकी उपमेयरकी उम्मेदवार आशाकुमारी चौधरीले थारू भाषालाई काम काजी भाषाको रूपमा विकास गर्ने बताइन् ।

नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार सिताराम घिमिरेले ५० बेडसम्मको नगर अस्पताल बनाउने बताए। उनले खानेपानी समस्या समाधान, सबै वडालाई सडक सञ्जाल र सडक स्तरोन्नति गर्ने योजना सुनाए । नेकपा एसकी उपमेयरकी उम्मेदवार सिता चौधरीले ग्रामथान क्षेत्रको संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने बताइन् । महिलाहरूको सशक्तीकरण, बालमैत्री शासन, युवालाई खेलकुदमा विशेष ध्यान दिनु पर्ने उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार चन्द्रकुमार चौधरी सडकहरूको स्तराेन्नति गर्दै सडक सञ्जालको विकास गर्ने बताउँछन् । अस्पतालको स्तरोन्नति, शुद्ध खानेपानीको व्यवस्था , प्राविधिक शिक्षामा जोड दिइने उनले बताए ।

सुशासन, भ्रष्टाचार मुक्त स्थानीय तह बनाउने राप्रपाका मेयरका उम्मेदवार सत्यनारायण चौधरीको दाबी छ । गरिब परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने राप्रपा उपमेयरकी उम्मेदवार सिता नेपालको भनाई छ । सबै दलका उम्मेदवारहरूले प्रस्तुत गरेको एजेन्डा मध्ये करिब ६० प्रतिशत मिल्ने खालका रहेका छन् । साझा एजेन्डाहरू सबै दलको सम्पत्ति भएकोले साझा विषयमा सबै एक हुने र नयाँ विषयहरू छलफलबाट अघि बढाउने उनीहरूको प्रतिबद्धता छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *