निर्वाचन प्रक्रिया सुधार हुँदै गएकाे आमनिर्वाचन पर्यवेक्षण समितिकाे ठहर

काठमाडाैँ । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले नेपालको निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको जनाएको छ ।

जियोकले मंगलवार काठमाडौँमा निर्वाचनसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका निर्वाचनभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको जनाएको हो ।

राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको छ । पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताबिच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था नपाइएको, प्रचारप्रसारमा विगतका निर्वाचनभन्दा संयमित भएको पाइएको तथा उम्मेदवारी छनोटमा भएको असन्तुष्टिका कारण उम्मेदवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडप भएको पाइएको छ ।

निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजागाजा, ठूला ब्यानर र झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको जियोक रिपोर्ट टिमका सदस्य मोहन आचार्यले जानकारी दिए ।

उनले मत माग्न जाँदा दलीय गीत गाउने र माइकको चर्को स्वरका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको बताए ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनमा विभिन्न दलहरू नेताहरूले एक अर्काप्रति गरेको टिप्पणीप्रति चासो देखिएको बताए ।

त्यस्तै, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्ने उल्लेख भन्दै निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी दर्तादेखि निर्वाचन पूर्वका समयमा ६० बढी उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेकामा स्पष्टीकरण सोधेको जानकारी दिए । उनले आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन कानुनअनुसार कारबाही हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *