एमालेबाट धरानकाे मेयरकी प्रत्याशी भन्छिन्, पाँच महिनामा खानेपानी समस्या समाधान गर्छु (अन्तर्वार्ता)

सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका प्रत्याशी २० जना छन् । एमालेको गढको रूपमा हेरिएको धरानमा २०७९ को स्थानीय तहको निर्वाचनमा कसले बाजी मार्छ भनेर यसै भन्न सक्ने अवस्था छैन ।

धरानमा गठबन्धनको तर्फबाट कांग्रेसले मेयर र माओवादीले उपमेयर उठाएको अवस्थामा एमाले एक्लै चुनावी मैदानमा छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तारा राई मेयरमा जितेका थिए भने उपमेयरमा मञ्जु भण्डारी निर्वाचित भएकी थिइन् । राईको निधन भएपछि भएको उपनिर्वाचनमा भने २०१७ सालपछि पहिलोपटक कांग्रेसले पहिलोपटक प्रमुखमा जित हात पारेको थियो ।

धरानको उपनिर्वाचनमा एमालेले गुमाएको साख अहिलेको निर्वाचनमा जोगाउने दायित्व यस अघिकी उपमेयर मञ्जु भण्डारीको काँधमा छ । देशभरका ११ वटा उपमहानगरपालिकाका उपमेयरमध्ये मेयरको टिकट पाउने ४० वर्ष उमेर नकटेकी भण्डारी भाग्यमानी महिला हुन् । स्नातकसम्मको अध्ययन गरेकी भण्डारी नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत हुन् । चुनावी माहौलका विषयमा उनीसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

चुनावी प्रचार–प्रसारको घरदैलो अभियान कस्तो हुँदैछ ?

हामी निरन्तर चुनावी अभियानमा छौँ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम आक्रामक तरिकाले अघि बढेको छ। वैशाखको यस्तो चर्को गर्मीमा पनि एमालेको पक्षमा हामी उम्मेदवारसँगसँगै सबै जनता र कार्यकर्ताहरू उत्साहका साथ एकढिक्का भएर चोकचोक, टोलटोलमा परिचालित भएका छौँ । धराने जनतामा उत्साह बढेको छ ।

तपाईं कार्यवाहक एक वर्ष चलाउँदा काम गर्न सक्नु भएन भन्ने आरोप छ नि ?

धरानमा एमालेले जित्ने आधार धेरै छ । तर, प्रतिपक्षीहरूले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लाञ्छना लगाएर कमजोर देखाउने प्रयास गरेका हुन् । अरूलाई नराम्रो देखाएर आफू राम्रो हुँ भन्नेहरूले आफ्नै धोती खुस्किएको पत्तो पाएका छैनन् । उनीहरूको गलत बनावटी आक्षेप धराने जनताले विश्वास गर्नेवाला छैनन् । धराने जनताको मलाई अपार माया छ ।

पाँच वर्ष उपमेयर भएको बेला धराने जनताका लागि काम गरेको छु । प्रदेश संघसँग समन्वय गरेर अरबौँका योजना धरानमा आएका छन् ।२०७४ पछि एमालेको नेतृत्वमा धरानमा केन्द्रीय सरकारबाट ठूलाे योजनाहरू आएका छन् । कतिपय काम सम्पन्न भएका छन् भने केही पाइपलाइनमा छन् । ती सम्पन्न गर्न पनि स्थानीय तहमा एमालेको नेतृत्व आवश्यक छ । कुरा रह्यो कार्यवाहक हुँदाको कुरा त्यो समयमा सबैभन्दा धेरै काम र राम्रा काम मैले गरेको छु ।

धरानमा तपाईंंले जित्ने आधार के हो ?

एमाले यो देशको मूल प्रवाहको प्रमुख पार्टी हो । प्रदेश र संघको सत्ता सञ्चालन गर्ने पनि यही पार्टी हो । अहिले हाम्रा पार्टीको संगठन बलियो छ । पहिलाको जस्तो अवस्था अहिलेको चुनावमा छैन । हिजो एमाले विभिन्न समूहहरूका कारण धेरै ठाउँमा पराजय ब्यहोराको हाम्रो अगाडि स्पष्ट थियो, यो निर्वाचनमा हामी सबै एक ठाउँमा एकताको साथ निर्वाचनमा होमिएको सबैको सामु स्पष्ट छ । हामीभित्र भएको एकता, मतदाताले गर्ने विश्वास र हामीले ५ वर्षमा धरानका लागि गरेका राम्रा कामहरू हाम्रो जित्ने आधार हो ।

नगरको समग्र विकास नै एमालेको धरानको मूल एजेन्डा हो । धरानको विकासको खाकालाई मूर्तरूप दिन संघ एव प्रदेश सहित दातृ निकायको साथ र सहयोग चाहिन्छ त्यो मेरो नेतृत्वले मात्र ल्याउन सक्छ । २०७६ को उपनिर्वाचनमा कांग्रेसका मेयर तिलक राईजी आउनुभयो त्यसपछि उहाँको नेतृत्वलाई दातृ निकायले पत्याएन । उहाँसँग सहकार्य गर्नै चाहेको देखिएन । यताबाट पनि पहलकदमी हुन सकेन ।

दातृ निकायसँगै संघ र प्रदेशको स्रोतविना धरानको विकास निर्माण सम्भव छैन त्यसैले म यी तिनै काम गर्न सक्ने व्यक्ति हुँ । यो अवस्थामा केन्द्रमा सिधा पहुँच हुनुपर्छ । दातृ निकायसँग सहकार्य गरी आर्थिक स्रोत जुटाएर अधुरा रहेका ठुला योजना पूरा गर्न र पहिल्यै डीपीआर बनेका दीर्घकालीन गौरवका योजनाहरू सुरुवात गर्न एमालेले धरानमा जित्न जरुरी छ । दातृ निकायसँग सहकार्य गर्न, संघ र प्रदेशबाट स्रोत जुटाउन म आफू सक्षम छु भन्ने कुरा हो । उपमेयर पदम लिम्बुसहितको टिमबाट धरानको विकासमा कायापलट हुने छ ।

तपाईंंको पालाको खानेपानी आयोजनाले खानेपानी अझै दिन सकेको छैन नि ?

खानेपानी आयोजना असफल भएको छैन । व्यवस्थापनमा कमजोरी भएको छ । यसकालागि ऐन बनाएर खानेपानी वितरण गरिने छ । एक वर्षभित्र हामी धरानमा खानेपानी वितरण प्रणालीमा पूर्ण रूपमा सुधार ल्याउँछौँ । यो मेरो प्रतिबद्धता हो । धरान खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत पानी वितरण गर्न सकिने अवस्था छ । साबिक एरियामा अनुगमन समिति बनाएर ४० प्रतिशत चुहावट हुने खानेपानी नियन्त्रण गर्नेछौँ । यो काम ३ देखि ५ महिनाभित्र हुनेछ । सुरु भएका योजना पुरा भएनन् भन्न त भएन नि । मैले सुरु गरेको खानेपानी मेरै पालामा वितरण गर्छु ।

धरानमा सुकुम्वासीको व्यवस्थापन कसरी गर्ने सोच्नुभएको छ ?

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने मुद्दा हामीले पहिल्यैदेखि भन्दै आएका छौँ । धरानमा उनीहरूको मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर लगत लिने, घर नम्बर दिने काम पनि स्वर्गीय मेयर तारा सुब्बाको पालादेखि नै सुरु भएको हो । त्यो काम गठबन्धन सरकारले अवरोध गरेपछि बिचैमा रोकियो । धरानमा १३ हजार ५ सय घरधुरीको लगत सङ्कलन भएको छ । पहिलो चरणमा २५ सयलाई निस्सा दिने तयारी पनि गरिएको छ । त्यसबाहेक सुकुम्वासी समुदायको शिक्षा, स्वास्थ्य, आवास र रोजगारको अवसरमा पहुँच दिलाउनु पर्ने छ ।

धरानको विकास निर्माणमा एमालेको एजेन्डा के हो त ?

धरानको विकास निर्माणमा हामीसँग थुप्रै एजेन्डाहरू छन् । हामीले गुरु योजना बनाएका छौँ । भिजन भएको पार्टी नै एमाले हो । एजेन्डा छैनन् भन्ने हल्ला विपक्षी पार्टीले फैलाएका हुनसक्छ । यी सब भ्रम हो । मुख्य गरी यो दुई वर्षभित्र पूरा हुने गरी स्मार्ट बसपार्क निर्माणका लागि टेन्डर नै भइसकेको छ । अहिले भौतिक पूर्वाधार तयार हुँदैछ ।

म उपमेयर हुँदा गरेको पहलमा स्मार्ट बसपार्क निर्माणको काम २५ प्रतिशत पुरा भएको छ । सर्दु, सेती कोरिडोर, साइन्स सिटी पार्क, धरान सिटी अस्पताल, धरान स्मार्ट सिटीका लागि पूर्वाधार तयारी गर्न डीपीआर तयारी नै भएको छ । अर्को महत्त्वपूर्ण कुरा छ, धरानको किराँतकालीन ऐतिहासिक पुरातात्त्विक थलोको रूपमा विजयपुरलाई चिनाइरहन पर्दैन ।

यो स्थलमा सम्बन्धित समुदायसँग समन्वय गरेर विजयपुर दरबार बनाउने, सभ्यता र संस्कृतिको पहिचानसहितको सङ्ग्रहालय बनाएर पर्यटकीय गन्तव्य स्थल बनाउने योजना छ । यसैगरी धरानलाई इकोनोमी कोरिडोरको रूपमा विकास गरेर पूर्वी पहाडी जिल्लाका लागि ट्रान्जिट प्वाइन्ट बनाउने, अटो जोनको रूपमा विकास गर्ने, सिन्डिकेट प्रणाली खारेज भए पनि रहेका उनीहरूका सम्पत्तिलाई हाल बनेका कम्पनीमै हस्तान्तरण गर्न पहल गर्ने हुनेछ।

आदिवासी जनजाति विकास समिति गठन गरेर भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको विकास गर्ने, त्यसका पनि विशेष गरी सम्बन्धित समुदायसँग समन्वय गरेर मुन्धुमी ज्ञानलाई प्रवर्द्धन गर्ने र भाषा, लिपि पठन–पाठनका लागि पहल गर्ने एजेन्डाहरू हामीसँग छ । त्यति मात्र नभएर नयाँ पर्यटकीय गन्तव्यका लागि धरानको विजयपुर–वराहक्षेत्र–खुवालुङ सर्किट बनाएर बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाको संरक्षण गर्ने एजेन्डाहरू पनि छन् ।

शिक्षामा गुणस्तर सुधार गर्न पहल गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने, नगर युवा परिषद्, महिला विकास समिति बनाएर काम गर्ने योजनाहरू छन् ।

ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा निःशुल्क सेवा र निःशुल्क दाँत लगाइदिने योजना पनि छन् । धरानलाई बालमैत्री, अपाङ्मैत्री, महिलामैत्री र वातावरणमैत्री बनाउँदै जातीय छुवाछुत र विभेद तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *