ओली राजावादी भनेर कराउँदै हिँड्नेले दमकमा राजावादी बाेके : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा पाँच दलीय गठबन्धनले आँट गर्न नसकेपछि राजावादीसँग मिलेको बताएका छन् ।

दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मुलुक भरी ५ दलीय गठबन्धन हुँदा दमकमा ६ दलीय बनाएर राजावादीलाई बोकेर हिँडेको बताए । विश्वमा नै चिनिएको दमक बिगार्नको लागि केही तत्त्व सक्रिय भएको ओलीको आरोप छ ।

‘एमालेलाई ५ दलले नसक्ने भएपछि ६ दल बनाइएको हो, उनले भने, दमकमा पाँच दलले पनि आँट गरेन र मेयरको उम्मेदवार विरुद्ध ६ दल लागे ।’

नेकपा एमालेको गढ किल्ला भनेर चिनिएको झापा जिल्लाको विकसित अझ एडभान्स नगरपालिका भनेर चिनिएको दमक नगरपालिका बिगार्नको लागि अहिले ती तत्त्वहरू लागेको उनको भनाई छ । पहिला ओली राजावादी भन्दै कराउँदै हिँड्नेहरू अहिले राजावादीलाई बोकेर हिँडेको बताए । ‘अस्ति केही दिन अघि केही तत्त्वहरूले अन्तरवार्ता दिँदै गरेको मैले सुने, भन्दै थिए, राजावादीसँग केपी ओली मिल्यो, ओलीले भने, दमकमा राम थापा जी के गणतन्त्रवादी हो ? अनि दमकमा मेयरमा कांग्रेसको क्याण्डिडेट छ ? क्रान्तिकारी गणतन्त्रवादी प्रचण्ड जीको क्याण्डिडेट छ ? माधव नेपाल उफ्रिँदै अन्तरवार्ता दिन हिँड्छन् उनको क्याण्डिडेट छ ? यिनीहरूको केही उद्देश्य छैन देशको विकास रोक्नु हो ।’

गठबन्धनको नाममा सबै मिलेर एमालेलाई घेराबन्दी गर्ने, एमालेका विरुद्ध हमला गर्ने मात्र काम भएको ओलीले बताए । ‘मोर्चाबन्दी गरेर यिनीहरूले घेराबन्दी गरेका छन्, ओलीले भने, टोक्न खोज्छन्, चिथोर्न खोज्छन्, स्यालले हात्तीका खुट्टा चिथोर्न खोजेको जस्तै भएको छ ।’

अहिले दमकमा पार्टी नभई देश विकास गर्ने लक्ष्य हेर्न उनले कार्यकर्तालाई आग्रह गरे । देउवाले चितवनमा प्रचण्डको छोरी काँधमा हालेको, पोखरामा माधव गुटलाई काँधमा सुम्पिएको र दमकमा राजावादी कांग्रेसको काँधमा हालिदिएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *