मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेको अपिल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रूपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्ण रूपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

स्थानीय तह जनताको समीपमा रहेर जनताको हरेक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकास प्रेमी, इमानदार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।
लोकतन्त्रको महत्त्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो ।

संविधानसभामार्फत २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भए बमोजिमको ३ तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ ।

मुख्यमन्त्रीले भनेका छन्, ‘यस सुखद घडीमा सम्पूर्ण प्रदेशवासीमा बधाई ज्ञापन गर्न चाहन्छु । यसै क्षणमा हामीलाई उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रदान गर्दै अग्रजहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

लामो र कठोर बलिदानपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक निर्वाचन अनिवार्य सर्त रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । आह्वान पत्रमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तरबरले सम्पन्न गर्ने, गराउने दायित्व सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो ’ राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ सङ्घसंस्था एवं सरोकारवाला सबै निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि उनले आह्वान गरेका छन् ।

धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *