कैलालीका महिला उम्मेदवार भन्छन्, ‘महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौं’

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन्। अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। यी दुवै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी पालिकामा नेकपा (एमाले) सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

टीकापुरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता खडक शाह उपप्रमुखको उम्मेदवार हुन्। उनी टीकापुरलाई सुन्दर टीकापुर बनाउनुका साथै महिला, उत्पीडित जाति, लिङ्ग, समुदायका समस्या समाधानमा सक्रिय भएर काम गर्ने बताउँछन्। ‘‘म स्वभावैले पनि महिलाका क्षेत्रमा काम गर्दै आएको मानिस हुँ। समाजमा सबै वर्ग तथा लिङ्गको समान अस्तित्वका लागि मैले पहल गर्दै आएको छु’’, उनले भने, ‘‘यसका साथै सुन्दर टीकापुर बनाउने मेरो अभियान छ।’’

टीकापुरमा एमालेबाट उपप्रमुख पदका उम्मेदवार उपमा केसी महिला हकहित, अधिकार स्थापना, महिलालाई स्वरोजगार बनाउनका लागि नेतृत्वमा आउन खोजेको बताउँछिन्। ‘‘म यसअघि पनि कार्यपालिका सदस्य भएर महिलाको विकासका लागि काम गरेकी छु, महिलाको जागरणका लागि, आत्मनिर्भर बनाउन, क्षमता विकास गर्न काम गरेकी छु’’, उनी भन्छिन्, ‘‘अब थप महिलाका सवालमा काम गर्नेछु।’’

नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार उल्कादेवी विक महिला सशक्तिकरणका लागि महिलालाई अवसर दिन, अगाडि बढाउनुका साथै पिछडिएका सबै वर्गलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउँछिन्। ‘‘सदियौँदेखि अवसर नपाएका समुदायका महिलालाई अघि ल्याउनेछु, म शिक्षाक्षेत्रबाट आएको भएकाले, शिक्षामा भएका विभेदसमेत अन्त्य गर्नेछु’’, उनले भनिन्, ‘‘यसका साथै उपप्रमुख पद जिम्मेवार पद भएकाले नगरपालिकामा सुशासन, भ्रष्टाचार नियन्त्रणमा मेरो पहल रहनेछ।’’

एमालेका तर्फबाट जानकी गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार गीता चौधरी महिलाका सवाल, समस्याको थुप्रो रहेकाले महिलाका समस्या समाधान गर्न, महिलालाई आयआर्जनसँग जोड्न, विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन्। ‘‘महिलाहरुू उद्यमशील बन्न नसकेका, आयआर्जनमा जोडिन नसकेको अवस्था छ’’, चौधरी भन्छिन्, ‘‘पहिलो प्राथमिकता महिलालाई व्यवसायिक, उद्यमशील बनाउन तथा आर्थिक क्रियाकलापमा जोड्न पहल गर्नेछु।’’

सत्ता गठबन्धनका तर्फबाट माओवादीका जानकीमा उपाध्यक्षमा पुरुष उम्मेदवार छन्। उपाध्यक्षका उम्मेदवार जयप्रकाश दहित आफूले युवा र बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभवलाई पालिकामा प्रयोग गर्ने बताएका छन्। ‘‘युवालाई रोजगारीको समस्या छ। म युवालाई पालिकामै रोजगारीको वातावरण सिर्जना गर्नेछु’’, उनी भन्छन्, ‘‘म पुरुष भए पनि महिलाका समस्यालाई नजिकबाट देखेको छु, समस्या महसुस गरेको छु। महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्न म थप सक्रिय भएर लाग्नेछु।’’

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जानकीमा उपाध्यक्षका उम्मेदवार लालमति कठरिया महिलालाई अगाडि बढाउने, महिलामाथि हुने विभेद् अन्त्यका लागि आफू उपाध्यक्षमा आउन खोजेको बताउँछिन्। ‘‘महिला बालविवाह, बहुविवाह, घरेलु हिंसाको शिकार भएका छन्, आफ्नै घरमा असुरक्षित छन्, आफ्नो घर उनीहरूका लागि असुरक्षित बन्छ’’, उनी भन्छिन्, ‘‘महिलाका सानासाना समस्यालाई समाधान गर्नेछु। महिलाका लागि पालिका घरजस्तै बनाउनेछु।’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *