दुहबीको मुसहर बस्तीमा युवामाथि छुरा प्रहार, प्रहरी भन्छ, आरोपप्रत्यारोप हाे

विराटनगर । दुहबीमा एक युवामाथि छुरा प्रहार भएको छ। दुहबी नगरपालिका ९ छाताबेलीको एक मुसहर बस्तीमा गएराती ४ जनाका समूहमा गएका केही युवाले छुरा प्रहार गरेको स्थानीयले बताएका छन्।

दुहबी नगरपालिका वडा नम्बर ९ को बेङ्ग्री मुसहर टोलका प्रदीप ऋषिदेवमाथि छुरा प्रहार भएको स्थानीयले जानकारी दिए । मुसहर टोलमा करिब १५० घरहरू रहेकोले त्यहाँ कुनै नेताहरूलाई चुनाव प्रचार गर्न नदिने गरेको आरोप कांग्रेसमाथि लाग्दै आएको छ ।

त्यस टोललाई नेपाली कांग्रेसका उम्मेदवारले ६० जनालाई मुसहर बस्तीलाई घेरेर राख्न पठाउने गरेको र त्यहाँ अरू कुनै पार्टीका उम्मेदवार गए वा त्यो टोल भित्र कुनै विपक्षी पार्टीको विरुद्धमा बोल्दा समेत कुटपिट गर्ने र ती युवाहरूले आक्रमण गर्ने गरेको स्थानीयको भनाई छ।

यस अघि त्यस वडाबाट निर्वाचित भएर फेरी वडा अध्यक्षका उम्मेदवार मेहदी हुसेनले आफ्नो क्षेत्र जोगाउन कार्यकर्ता लगाएर घेरा हाल्न लगाउने गरेको उनीहरू बताउँछन् । मेहदी हुसेनको डरले स्थानीय कोही नाम बताउन चाहँदैनन् ।

नागरिकलाई स्वतन्त्रता पूर्वक मत हाल्न पाउने अधिकारको कुण्ठित गराउने काम भएकोमा उनीहरूको आपत्ति छ । ‘दिउँसो त्यही गाउँमा घेरा हालेर बसेका व्यक्तिहरू रातीको समयमा मुखमा मास्क लगाएर आएको र आक्रमण भएको हो, एक स्थानीयले भने, छुरा प्रहार गरेर ती व्यक्तिहरू प्रदीपको मोबाइल समेत लिएर फरार भएका थिए ।’ २ दिन अघि चुनाव प्रचारको क्रममा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मेहदी हुसेन नेतृत्वको टोलीले चुनाव प्रचार गर्दै गरेको गाडीमाथि तोडफोड गरेको थियो ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीले चुनावको कारण एकले अर्कोलाई आरोप र आक्षेप लगाउने काम भएको बताए । प्रहरीका अनुसार, मुसहर बस्तीको मन्दिरमा एकजना युवा बसिरहेका थिए । उ त्यहाँ बसिरहेको बेलामा ४ जना मुस्लिम युवाहरू मन्दिरमा पुगे । जुत्ता लगाएरै मन्दिरमा चढे । त्यहाँ बसिरहेका ती युवाले तँ जुत्ता लगाएर किन हाम्रो मन्दिरमा चढेको भन्दै युवालाई भनेका थिए, त्यहाँ पुगेका ४ जना युवाहरूले ती युवालाई हात हालेको भन्ने जानकारीमा आएको माझीले बताए । ‘म त्यहाँ पुग्दा त्यहाँका युवाको खुट्टामा घाउ देखिएको थियो, उनले भने, घाउ हेर्दा सामान्य खालको थियो, टाँकाहरू केही थिएन ।’

त्यहाँ कांग्रेस र एमाले तथा राजनीतिक कुराले भन्दा पनि मन्दिरमा जुत्ता लगाएको कुराले केही समस्या भएको भन्ने जानकारीमा आएको उनले बताए । चुनावी माहौलका कारण एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने काम भएको उनले बताए । कसरी हुन्छ चुनावलाई आक्रोशित गराउने खालको गतिविधिहरू भएको कारण एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने काम भएको उनको भनाई छ ।

घटनास्थलमा पुगेको प्रहरीलाई स्थानीयले छुरा प्रहार गर्ने व्यक्तिको बारेमा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको आरोप स्थानीयको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *