पालुङटारमा एमालेसँग मिलेको जसपाको दाबी, हल्ला निराधार रहेको एमालेको विज्ञप्ति

पोखरा । गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच तालमेल भएको होहल्ला जसपाकै नेताहरूले गरिरहेका छन् । उनीहरूले कांग्रेससँग मिल्न नसकेपछि एमालेसँग मिलेको दाबी गरे । तर एमालेले भने कुनै पार्टीसँग आफूहरू नमिलेको विज्ञप्ति निकालेको छ ।
जसपाका केही नेता कार्यकर्ताले पालुङ्टारमा एमाले र जसपाबीच चुनावी तालमेल भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । ‘जसपाका नेता कार्यकर्ताले एमालेसँग तालमेल भएको भन्ने कुप्रचार गरेको प्रति एमाले खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रामक हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्दछौँ । एमालेले कसैसँग तालमेल गरेको छैन ।’
एमालेले मेयर, उपमेयर र १० वटै वडामा अध्यक्षसहित सदस्यमा पनि उम्मेदवारी दिएको छ । जसपाले पनि आफ्नो उम्मेदवारी कायम गरेको छ । यता कांग्रेससँग मिल्ने तयारी गरेपनि जसपाकै द्धैतचरित्रका कारण मिल्न नसकेको भन्दै कांग्रेसले पनि आफ्नो उम्मेदवारी छोडेको छैन । पालुङटारमा अहिले पनि ०७४ कै प्रतिस्पर्धा दोहोरिने पक्काजस्तै छ ।









